एसईईको मौका परीक्षा : दबाब हैन, अवसरको रूपमा सदुपयोग गरौँ

 असार २१, २०८१ शुक्रबार १८:१९:१८ | राजेन्द्र पहाडी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पास हुन नसकेका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने अवसर पाएका छन् । एक महिनापछि हुने मौका परीक्षा विद्यार्थीका लागि आफ्नो नतिजा सुधार्न एक महत्त्वपूर्ण अवसर हो ।

विद्यार्थीलाई परीक्षामा सफल हुनका लागि धेरै दबाब हुन सक्छ जसले उनीहरूको भावनात्मक र मानसिक स्वास्थ्यमा चिन्ता उत्पन्न गर्न सक्छ । यस अवस्थामा घरपरिवार र आफन्तले विद्यार्थीलाई तनाव र चिन्ता व्यवस्थापन गर्न मद्दत र हौसला प्रदान गर्नुपर्छ ।

विद्यार्थीले कुनै प्रकारको तनाव लिनु हुँदैन भन्ने मुख्य कुरा हो । पूरक परीक्षाको तयारी गरिरहेका विद्यार्थीले सकारात्मक सोच राख्न जरुरी छ । पहिले मनबाट अनुत्तीर्ण भएको डर हटाउनु आवश्यक छ । उच्च मनोबल र दृढ विश्वासका साथ परीक्षामा सहभागी हुने परिस्थिति निर्माण गर्नुपर्छ । यसरी तयारी गर्दा उत्तीर्ण हुन सक्ने स्थिति बन्न सक्छ ।

अबको एक महिना पूरक परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अत्यन्त महत्त्वपूर्ण समय हो । एक वर्ष अध्ययन गरिसकेका कारण अबको एक महिनामा बुझ्न सजिलो हुन्छ । यस समयमा विद्यार्थीले त्यही किताब र पाठलाई पुनरावलोकन गर्नुपर्छ । त्यसैले तयारीका लागि एक महिना पर्याप्त समय हो । विद्यार्थीले अब्बल हुन व्यवस्थित समय तालिका बनाएर तयारी गर्नुपर्छ ।

यसअघि दिएको परीक्षाको अनुभव निकै मूल्यवान् हुन्छ । परीक्षामा कति प्रश्न हल गरियो ? पर्याप्त तयारी थियो कि थिएन ? यदि तयारी अपूरो थियो भने त्यसलाई पूर्णता दिनु आवश्यक छ । त्यसका लागि विगतमा सोधिएका प्रश्न, यसअघिका परीक्षामा सोधिएका प्रश्नपत्र जम्मा गर्ने र अभ्यास गर्ने । आफैँले लेखेका उत्तर विषय शिक्षक र साथीभाइलाई देखाउने र सुधार गर्ने कुरामा ध्यान दिनु आवश्यक छ । आफूले नजानेको वा नबुझेको कुरा शिक्षक वा जान्ने साथीलाई सोध्नुपर्छ ।

विद्यार्थीले दोस्रो मौकाको तयारी गर्दा कम समयमा धेरै पढ्नुपर्ने हुन्छ जसले गर्दा एक वर्षभरि पढेका कुरालाई एक महिनामै दोहोर्‍याउनुपर्ने चुनौतीपूर्ण हुनसक्छ । यस्तो अवस्थामा विद्यार्थीले यो मौकालाई बोझभन्दा अवसरको रूपमा लिएर सकारात्मक रहनु आवश्यक छ । तसर्थ विद्यार्थीले अहिलेसम्म पढेका कुरालाई घोक्नेभन्दा मुख्य अवधारणा बुझ्नमा केन्द्रित हुनुपर्छ ।

परीक्षाको तयारी गर्न केही आधारभूत आवश्यकता छन् । अध्ययन गर्दा मुख्य विषयका बुँदा टिपोट गरेर पढ्ने, लेख्ने र निरन्तर अभ्यास गर्नुपर्छ ।

तयारीका उपाय 

विद्यार्थीले तयारी गर्दा व्यवस्थित योजना र समय व्यवस्थापन गर्नु अत्यन्तै जरुरी छ । दैनिक अध्ययन तालिका बनाएर तयारी गर्नुपर्छ जसमा गाह्रो विषयलाई बढी प्राथमिकता र कम गाह्रो विषयलाई कम समय मिलाएर अध्ययन गर्नुपर्छ ।

एकैचोटि लामो समयभन्दा छोटो–छोटो समयमा अध्ययन गर्दा ध्यान केन्द्रित रहन्छ । साथै अध्ययन सामग्रीको सही चयनले तयारीलाई प्रभावकारी बनाउँछ । यसका लागि शिक्षक, जान्ने साथी वा अनुभवी व्यक्तिको सहयोग लिनुपर्छ । परीक्षामा सफल हुन नियमित अभ्यास गर्न आवश्यक छ ।

विद्यार्थीले मुख्य पाठ्यपुस्तक र टिपाेटकाे आधारमा अध्ययन गर्नुपर्छ । तर शिक्षकले पाठ्यपुस्तकसँगै व्यावहारिक शिक्षा दिन सकेमा विद्यार्थीलाई बुझ्न थप सहज हुन्छ । विद्यार्थीले पनि मौलिक उत्तर दिन सकेमा धेरै नम्बर पाउने सम्भावना बढ्छ ।

अहिलेको समयमा हामी प्रविधिसँग जडिएका छौँ । विषय शिक्षा प्राप्त गर्न प्रत्यक्ष सम्पर्क नभए पनि सामाजिक सञ्जालमार्फत हामी जिज्ञासा राख्न सक्छौँ । यसैगरी अनलाइन स्रोत जस्तै– युट्युब भिडियो, अनलाइन क्लास र अन्य शैक्षिक वेबसाइटको प्रयोग गर्न सकिन्छ ।

शिक्षकले विद्यार्थीलाई सहजीकरण गर्नुपर्छ । अपेक्षित परिणाम हासिल गर्न अतिरिक्त कक्षाको व्यवस्था गर्नुपर्छ । साथै सधैँ विद्यार्थीलाई सकारात्मक भावना विकास गर्न र उनीहरूको मनोबल उच्च राख्नुपर्छ । शिक्षकले विशेष कक्षा सञ्चालन, त्यसको प्रबन्धन र अनुगमन गर्नुपर्छ ।

अभिभावकले विद्यार्थीलाई घरमा शान्तिपूर्ण वातावरण प्रदान गर्नुपर्छ । विद्यार्थीको स्वास्थ्यका लागि उनीहरूको खानपानमा ध्यान दिनु आवश्यक छ । विद्यार्थीलाई मानसिक तनाव भएको गतिविधिबाट सावधान रहन आवश्यक छ । परीक्षाको तयारीमा विद्यार्थीले शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्छ । त्यसका लागि स्वास्थ्यकर खानपानमा ध्यान दिनुपर्छ ।

परीक्षा दिँदा सबै परीक्षा केन्द्र, समय र परीक्षाका लागि आवश्यक सामग्री सही तरिकामा छुटाउनु हुँदैन । परीक्षा दिँदा पनि निर्देशनानुसार सम्पूर्ण पालना गर्नुपर्छ । जसमा सिम्बल नम्बर, उत्तर पुस्तिकाको नम्बर र रजिस्ट्रेशन नम्बर सही लेख्नुपर्छ । प्रश्नको हल गर्दा कुन प्रश्नलाई कति अङ्क दिइएको छ भन्ने अनुसार समय व्यवस्थापन गरी लेख्नुपर्छ ।

विद्यार्थी जीवनमा परीक्षा धेरै दिनुपर्छ । यदि कुनै परीक्षा बिग्रिँदैमा सबै सकियाे भनेर साेच्नु हुँदैन । विद्यार्थीले यसबाट सिक्नुपर्छ र अगाडि बढ्नुपर्छ । उनीहरूलाई हौसला दिनु अत्यन्तै आवश्यक छ ।

नेपालमा परीक्षा मात्र विद्यार्थीको ज्ञानको मापदण्ड होइन । परीक्षामा सिकेका शिक्षाका पाठलाई सकारात्मक दृष्टिकोणले अभिवृद्धि गर्न आत्मसात् गर्नुपर्छ जसले सृजनात्मक, सकारात्मक र रचनात्मक विकासलाई अगाडि बढाउन सक्छ ।

यो एक महिनाको अवधि निकै महत्त्वपूर्ण छ । विद्यार्थीले दैनिक समय तालिका बनाउँदा अध्ययन प्रभावशाली हुन्छ । अहिलेको अवसरको महत्त्व बुझेर तयारी गर्न यो एक महिनाको समय अत्यन्त आवश्यक छ र यसपालि नै कक्षा ११ मा भर्ना हुन पाइन्छ ।

(शिक्षाविद् राजेन्द्र पहाडीसँगको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: साउन ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजेन्द्र पहाडी

पहाडी शिक्षाविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया