भीआईपीको चाकडीमै व्यस्त हुन्छन् चितवनका कार्यालय प्रमुख

 मंसिर ५, २०७५ बुधबार १९:८:३५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन –  विभिन्न कार्यक्रममा सहभागी हुन बुधबार नेकपाका अध्यक्ष एवम् चितवन क्षेत्र नं. ३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउँदै हुनुहुन्थ्यो ।

बिहान ९ः४५ को यति एयरलाइन्सको जहाजमा चितवन आउने भनिएपछि दाहाललाई समयमै भरतपुर विमानस्थलमा स्वागत गर्नेहरु पुगेका थिए । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले संयुक्त रुपमा दाहालसँग प्रेस मीट कार्यक्रम राखेको थियो ।

बिहान ९ः४५ मा प्रेस मीट हुने भएकाले समयमै उपस्थित हुन पत्रकारहरुलाई चौतारीका अध्यक्ष तीर्थ नेपालले सूचित गरेपछि जिल्लाक क्रियाशील पत्रकार समयमै विमानस्थल पुगेका थिए । तोकिएकै समयमै पुगेका पत्रकारहरुले पनि दाहाललाई कुर्नु परेको थियो ।

जहाज ढिला (डिले)हुँदै गयो । स्वागत गर्न पुगेकाहरु कुर्दै गए । जति पछि भयो त्यति नै स्वागत गर्नेहरुको संख्या पनि बाक्लिँदै गयो । स्वागत गर्न पुगेकाहरुमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी प्रमुख सुशील सिं राठौर, भरतपुर महानगरपालिका प्रमुख प्रशासक नेत्र सुवेदीलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख र जनप्रतिनिधिहरु थिए ।

जिल्लाका महत्वपूर्ण कार्यालयका प्रमुख र जनप्रतिनिधिहरु समेत दाहाललाई स्वागत गर्न विमानस्थल पुग्दा यता कार्यालयको काम भने प्रभावित भएको थियो । जहाज एक बजेपछि मात्र विमानस्थल आइपुग्यो । बिहान ९ः३० देखि विमानस्थलमा कुरिरहेका सबैजना दिउँसो १ बजेसम्म कुरेरै बसे ।

अन्य कार्यक्रम छाडेर आएका पत्रकारहरु मात्र होइन दिनभर कार्यालयमा जनताका काममा व्यस्त रहनुपर्ने प्रशासकसमेत विमानस्थलमै दाहाललाई कुरेर बसेका थिए । झण्डै चार घण्टा स्वागतका लागि कुर्ने प्रशासक जनप्रतिनिधि र पत्रकारले दुई मिनेटको प्रश्न उत्तर हतारमा सुन्न पाए ।

मौसम खराब भएका कारण उडान ढिला भएकाले लामो समय कुर्न परेको हो । यसअघि दाहाल चितवन आउन खोज्दा काठमाडौं विमानस्थलमा मौसम खराब भएका कारण जहाज नउडेका कारण चितवन नआई उतैबाट फर्कनुभएको थियो । स्वागतका लागि यता भरतपुर विमानस्थल पुगेकाहरु केही समय कुरेर फर्किएका थिए ।

जिल्लामा भीआईपीहरुको आगमन बढ्दै गएको बताउँदै प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले समय र सुरक्षाको व्यवस्थापन आवश्यकताअनुसार मिलाइएको बताउनुभयो । भीभीआईपी र भीआईपीहरुको आगमन बढेपछि स्वागत र सुरक्षा व्यवस्थापनमा जिल्लाका प्रमुखहरु व्यस्त रहनुपर्दा कार्यालयको काम प्रभावित हुँदै गएको छ । जिल्लामा भीआईपीहरु आउँदा प्रमुख जिल्ला अधिकारीदेखि विभिन्न सुरक्षा निकायका प्रमुखहरु अति व्यस्त हुने गरेका छन् ।

चितवन आवतजावतका हिसाबले सहज जिल्ला भएको र यहाँ राष्ट्रिय स्तरका कार्यक्रमहरु समेत भइरहने हुनाले भीआईपीहरुको चहलपहल धेरै हुने गरेको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जिल्लाबाट निर्वाचित सांसद भएका कारण उहाँको आगमन धेरै हुने गरेको छ ।

प्रदेश सरकारको संरचनासमेत बनेको र प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री र केन्द्रीय सरकारका प्रतिनिधिसमेत आउने गरेका कारण भीआईपीहरु बढेका हुन् । देशका महत्वपूर्ण कार्यक्रमसमेत चितवनमा हुने गरेको र कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्री, दलका नेता, प्रदेशका मुख्यमन्त्री र मन्त्रीकोे समेत उपस्थिति बाक्लिँदै गएको छ ।

जिल्लामा कार्यक्रम आयोजना गर्ने संघसंस्थाले पहुँच र प्रभावसँगै कार्यक्रमलाई प्रभावकारी देखाउन भीआईपीहरु बोलाउने संस्कार हावी हुँदै गएको छ । भीआईपी आउनासाथ सवारी साधनको व्यवस्था, सुरक्षा व्यवस्था मिलाउन भीआईपीको पछि हिँड्नु पर्ने बाध्यता प्रहरीको छ । भीआईपीको सुरक्षा व्यवस्थापनमा प्रहरी व्यस्त रहँदा सामाजिक अपराध, चोरी तथा लुटपाट बढ्ने चिन्ता भएकोले  कार्यक्रमको महत्व र भीआईपीहरुको व्यस्ततासँगै त्यसको असरका विषयमा समीक्षा हुन आवश्यक देखिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया