सिमलतालमा आँसुको व्यापार

 असार ३०, २०८१ आइतबार १६:३४:६ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनमा पर्ने नारायणगढ–मुग्लिन सडक खण्डकाे भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहानपख गएको पहिरोमा परेर दुई वटा यात्रुवाहक बसमा सवार ५० जनाभन्दा धेरै व्यक्ति त्रिशूली नदीमा बेपत्ता छन् । बेपत्ता भएकाहरूको खोजी कार्य चलिरहेकाे छ । बस अझै फेला परेको छैन तर घटनास्थलभन्दा धेरै टाढा केही शव भेटिएका छन् ।

दुर्घटना चाहेर हुने विषय होइन । अकस्मात् आइपर्ने विपद् हो । सिमलतालमा भएको यो समान्य विपद् होइन । स्थानीय पत्रकारहरूले दैनिक रिपोर्टिङ गरिरहेका छन् । देशमा मात्र होइन विदेशका अखबरहरूले पनि यो विषयलाई महत्त्वपूर्ण ठाउँ दिइरहेका छन् । दुई वटा बस र त्यसमा सवार ५० जनाभन्दै धेरै मानिस एकै ठाउँमा विपदमा पर्नु कम दुःखको विषय होइन ।

घटनापछि स्थानीय प्रशासनले सम्भव भएसम्मको शक्ति प्रयोग गरेर उद्धारको काम गरिरहेको छ । सुरक्षाकर्मीहरू त्यो बेगमय नदीमा डुबुल्की मार्दै बस र यात्रु खोज्ने प्रयासमा छन् । हेर्न पुग्नेको ताँती छ । घटनाप्रति दुःख मान्नेहरूको सागर छ । कामना गर्नेहरू उतिकै छन् ।

यही घटनालाई लिएर कसैलाई भने कमाइखाने माध्यम बनेको छ । समाचारका लागि सूचनाभन्दा पनि सामाजिक सञ्जालमा भिडियो राखेर लाइक, शेयर र भ्युअर्स बढाएर पैसा कमाउने धुनमा लागेकाहरूका लागि यति बेला सिमलताल उपयुक्त 'जक्शन' बनेको छ । क्यामेरा बोक्नेका ताँती छ, प्रस्तुति अनेक भाँतीका छन् । खास पत्रकारहरू ओझेलमा परेका छन्, यिनै पीडा बेच्ने व्यापारीहरूको दबदबा छ ।

बिहानै उद्धार टोली पुग्नुअघि नै क्यामेरा बोकेर पुग्ने र एकोहोरो फलाक्नेको सङ्ख्या बढ्दै गएको छ । उद्धारकर्ताहरूभन्दा क्यामेरा बोकेर फलाक्नेहरू धेरै देखिने अवस्था छ । घटनामा परेकाहरूको आफन्तको रुवाबासी छ । तर त्यही आँसुलाई बेच्न तिनै क्यामेरा बाेक्नेहरू तछाँडमछाड गर्दैछन् । मानवीय संवेदनामा विवेकशून्य हुनुहुन्न । सके सहयोग गर्ने हो नसक्दा सान्त्वना दिने हो । तर त्यहाँ तिनै संवेदनलाई बिक्री गरिएको छ ।

सामाजिक अभियन्ताका नाममा अरूको पीडालाई बेच्ने छुट कसैलाई हुन्न । यस्ता शैलीमा पुग्नु र प्रोत्साहन दिनु भनेको अराजकता र भडुँवालाई प्रश्रय दिनु हो । यो–त्यो, यसो–उसो, यहाँ–त्यहाँ, यसरी–उसरी भन्दै भिडियो खिच्दै असुहाउँदाे प्रस्तुति गरेर समाजलाई भ्रम छर्नेहरूको बिगबिगी यस्ता घटनाहरूमा बढ्दै जान थालेका छन् । आफूलाई फाइदा हुने अनुकूलता हेरेर समाज र पीडितलाई त्यहीअनुसार भड्याउने खेलमा यस्ता तत्त्व हाबी हुँदै गएका छन् ।

शुरुमा दुर्घटना भएको विषयलाई हल्लीखल्ली गरेका त्यो वर्गले त्यसपछि घटनामा परेकाहरूको आफन्तका आँसुलाई बेच्यो । त्यतिले नपुगेर उनीहरूलाई उचालेर सडक बन्द गराउने हर्कतसम्ममा तम्सियो । आफैँ उचाल्ने कर्ममा लागेको त्यस्ता व्यपारीहरूका विषयमा कोही कसैले बोल्ने, सोध्ने हिम्मत गरेको देखिन्न । घटनास्थलमा हेर्दा लाग्छ, राज्य नै ती क्यामेरा बोकेका हल्लाखोरहरू हुन, अरू सब बेकामे छन् ।

गजबलाग्दो कुरा त के छ भने, तिनै आँसुका व्यपारीहरूका क्यामेरा अगाडि परेर बोल्दा स्थानीय प्रशासन र प्रहरी आफूलाई ठूलो मान्छे भएको ठानेको देखिन्छ । उनीहरूका क्यामेरा अगाडि बोल्दा आफू पनि भाइरल भएको अनुभूति गरेको देखिन्छ । तिनलाई तिमी यहाँ आएर अरूको पीडामा खेलेर आँसुको व्यापार नगर भन्ने हिम्मत कसैले गरेको देखिन्न । प्रशासन र प्रहरीले ती सबै क्यामेरा बोकेर हल्लीखल्ली गर्नेहरूलाई पत्रकारकै रूपमा बुझेको पाइन्छ । थाहा हुनुपर्छ, क्यामेरा बोक्ने सबै पत्रकार हुँदैनन्, फलाक्ने सबै सञ्चारकर्मी हुन्नन् ।

त्यसैले यस्ता घटनामा को कुन उद्देश्यले आएको छ, कसले कसरी प्रस्तुति गरिरहेको छ भन्ने विषयमा सरोकार राख्ने निकाय र घटनासँग जोडिएका पात्रहरू असाध्यै चनाखो बन्नुपर्ने समय आएको छ । आफू अनुकूल घटनालाई तोडमोड गराउने, उछालपछार गराउने र भिडियो बेचेर कमाउने नियत राख्नेकाविरुद्ध हाम्रा आँसुकाे व्यापार गर्ने छुट तिमीलाई छैन भन्ने आँट हुनुपर्छ ।

कसैको मानवीय संवेदनालाई बिक्री गर्नेहरू सामाजिक अभियन्ता हुनै सक्दैनन् । ती समाजका अराजक र भडुँवा हुन् । यिनले आफूलाई फाइदा हुने देखे भने समाज र पीडितलाई आफ्नो अनुकूलमा भड्काउन तयार हुन्छन् र त्यही भिडियो व्यापार गर्न थाल्छन् । त्यसैले त्यस्ता व्यक्ति चिनाैँ, उसको प्रयोजन बुझौँ र यसो नगर भनेर सम्झाऔँ । पीडामा परेकाहरूलाई सहयोग गर्ने हो, तथ्यसहितको सूचना दिने हो तर अरूका आँसुलाई व्यपार गर्ने होइन र गर्न दिनुहुन्न ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया