विपदबाट जोगिन पूर्वसूचनासँग जाेडिइरहनुपर्छ

 साउन ८, २०८१ मंगलबार १८:५४:१९ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – सामान्यतया नेपालमा जेठ अन्तिमतिर भित्रिने मनसुन असोज मध्यसम्म रहन्छ । मनसुन भित्रिएपछि पर्ने पानीले किसानलाई राहत पुग्छ नै । तर बेलाबखत पर्ने ठूलो पानीले प्राकृतिक प्रकोप बाढी/पहिरो र डुबानको जोखिम निम्तने गर्छ । मनसुनमा लगातार पानी नै पर्छ भन्ने हुँदैन, कतिपय अवस्थामा सुक्खा पनि हुन सक्छ । तर यसपालि मनसुन भित्रिएपछि लगातारजसो पानी परेको छ । अझ दिनमा भन्दा रातको समयमा कतिपय ठाउँमा ठूलो पानी परेको अवस्था छ ।

गएको असार २७ गते राति कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले देवर कुलबहादुरलाई भन्नुभएको थियो, 'ठूलो पानी परेको छ, आज घरमा सुत्नु हुँदैन । नसुतेर बस्ने हो भने पनि झ्याल ढोका खुला राखेर बस्नुपर्छ, पहिरो आयो भने भाग्न सहज हुन्छ ।' रातको बेला बाहिर ठूलो पानी परिरहेको थियो । जोखिम थाहा हुँदाहुँदै पनि बेलैमा घर नछोड्दा पहिरोमा परी तल्लाकोटका कुलबहादुर परियारको ६ सहित ७ जनाले ज्यान गुमाए । कुलबहादुरलाई पहिराेको त्रास पहिल्यै थियो तर त्यस दिन पाहुना पनि आएकाले घर छाडेर अन्त जाने अवस्था नहुँदा घटना भएको पहिरोमा बाँच्न सफल राधिका बताउनुहुन्छ ।

त्यसै रात शुक्रवार बिहान चितवनको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगायो । त्रिशूली नदीमा खसेका बस र हराएका केही यात्रुको अहिले पनि अवस्था थाहा हुन सकेको छैन । त्यस्तै गएराति काठमाण्डौसहित देशका केही ठाउँमा ठूलो पानी पर्‍याे । काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न भए । आज राति पनि तीन वटा प्रदेशको केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविद्को अनुमान छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जन भन्नुहुन्छ :

'मनसुनको विशेषता नै रातिमा धेरै पानी पर्ने हुन्छ । दिउँसोमा घाम लागेर तापक्रम बढी हुन्छ । तापक्रम बढी भएपछि वायुमण्डलमा धेरै पानी रहन सक्छ । रातिमा मौसम चिसो हुँदा वायुमण्डले पानी रोकिराख्ने क्षमता कम हुने भएकाले पानी धेरै पर्ने हुन्छ । खोला, नदी आसपासमा बस्ने नागरिकले आफूसँग जे पूर्वाधार छ त्यही प्रयोग गर्नुपर्छ । मौसमजन्य सूचना, बाढीका सूचना र विभिन्न सङ्घ–संस्थाले प्रभाव गर्ने सूचनाबारे जानकारी राख्नुपर्छ । यात्रा गर्नुअघि सडकको अवस्थाबारे १०३ मा फोन गरेर बुझ्नुपर्छ । यसो गर्दा सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ । आफूलाई शङ्का लाग्नेबित्तिकै फोन गर्नुपर्छ । आफू बसिरहेको ठाउँमा एक/दुई दिनदेखि ठूलो पानी परिरहेको छ र नदी तटीय क्षेत्र नजिक घर छ भने मौसम पूर्वानुमान महाशाखामा फोन गरेर पानी पर्नसक्ने अवस्थाकाे बारे जानकारी लिनुपर्छ । सूचना, जानकारी लिएपछि त्यही आधारमा काम गर्नुपर्छ जसले गर्दा सुरक्षित रहन सकिन्छ । आफू बस्ने ठाउँ नजिक भीरालो जमिन छ भने सबैभन्दा पहिले सुरक्षित ठाउँमा सर्नुपर्छ । ठूलो पानी नपरेर थोरै पानी पर्दा पनि माटो गल्ने हुँदा लेदोसहित पहिरो जान सक्छ । मानिसले अटेर गरेर पनि विपद्जन्य घटनाबाट ज्यान गुमाएका छन् । कतिपय मानिसले यतिका घटना हुँदा पनि गम्भीर नभएको देखिन्छ । तर कतिपय नागरिकले गम्भीर भएर सूचना, जानकारी लिन फोन गर्ने गरेका छन् । त्यसैले ठूलो पानी पर्दा जोखिमलाई मध्यनजर गरी गम्भीर हुनुपर्छ । आज राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।'

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया