देशका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा : अबको तीन दिनसम्म नै ठूलो पानी पर्ने सम्भावना

 साउन १५, २०८१ मंगलबार ७:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज बिहानैदेखि पानी परिरहेको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो । कोशी, मधेश र बाग्मती प्रदेशका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै रुपन्देहीको तिलोत्तमामा १४ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै दोलखाको लामाबजारमा १० दशमलव २ र रौतहटको चन्द्रपुरमा पनि १० दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी बाराको निजगढमा ९ दशमलव ८ मिलिमिटर पानी परेको छ ।

काठमाण्डौको नैकाप, किर्तिपुर र बबरमहल क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । यस्तै ललितपुरका केही ठाउँमा पनि हल्का पानी परिरहेको छ । अबका तीन दिनसम्म नै देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिन विशेषगरी रातिको समयमा धेरै वर्षा हुने भएकाले बाढीपहिरोजस्ता मनसुनजन्य घटना बढ्नसक्ने तर्फ सतर्कता अपनाउन अनुरोध समेत गरेको छ । मौसमविद् सञ्जिव अधिकारीले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेका विभिन्न ठाउँमा अति ठूलो वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा तीन दिनसम्म ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना रहेको छ । आज मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशको एक–दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।

बाढी पूर्वानुमान महाशाखाले नदी तथा खोलामा बहाव बढ्नसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया