गाईजात्रा : ऐना हेर्दा आफ्नै जात्रा, बाहिर हेर्दा सडकमै जात्रा !

 भदौ २, २०८१ आइतबार १३:६:५७ | मिलन तिमिल्सिना
unn.prixa.net

बानेश्वर र सिंहदरबारको हलमा दिनहुँजसो गाईजात्रा प्रहसन भैरहेको बेला कलाकारहरूले प्रज्ञा र नाचगरमा निम्तो गरेका छन् । तर अहिले गाईजात्रे स्वाद लिन कतै धाइरहनै पर्दैन । जता हेर्‍याे, त्यतै गाईजात्रा । जता फर्क्याे, त्यतै गाईजात्रा । फेसबुक खोल्नेबित्तिकै गाईजात्रा । कतै नेताका भाषण, कतै कलाकारका चर्तिकला, कतै फेसबुक चलाउनेकै थरीथरीका चाला ।

अरूको अनुहार हेर्नेबित्तिकै गाईजात्रा । आफ्नै अनुहार हेर्‍याे भने झन् धेरै गाईजात्रा । भुँडीमा मात्रा नपुगेर फुङ्ग उडेको अनुहार । बल्लतल्ल अलिकति भरेपछि फेरि कहाँबाट के भर्ने भनेर चिन्तित भुँडी । आफ्नै मात्र एउटा भुँडी भएको भए पो केही न केही गरेर भर्नु । घरभरिका सबै भुँडी आफ्नै । हातखुट्टा गलिसकेका बाआमाको भुँडी पनि आफ्नै । हातखुट्टा लाग्न नभ्याएका बालबच्चाका भुँडी पनि आफ्नै । बुढीको भुँडी पनि आफ्नै । बुढीको भुँडीभित्रको भुँडी पनि आफ्नै । दिनमा कम्तीमा पनि तीनफेर सबैका भुँडी एकैपटक कराउँछन् । मुखमा केही न केही नपार्दासम्म भुँडी कराउन छोड्दैन ।

भुँडीलाई शान्त पार्नुपर्‍याे भन्दै मुख बेलाबेला आँ गरिरहन्छ । मिठोमसिनो जे छ छिटो ले भनेर हातलाई दबाब दिइरहन्छ । हातमुख जोर्न कि साथमा दाम हुनुपर्छ कि माम । यी सबैथोक हुन काम हुनुपर्छ । भनेजस्तो काम, दाम र माम भयो भने मात्रै भुँडीलाई आराम हुने हो । तर न कसौँडीमा माम छ, न खल्तीमा दाम, न त दाम मिल्ने काम । माम बनाउन चाहिने अन्नपात उब्जाउ हुने खेतबारी धेरै छैन । भको थोरै खेतबारीमा काम गर्ने जाँगर पनि हराइसक्यो ।

अस्तिभन्दा हिजो र हिजोभन्दा आज अत्यास झन् बढ्दो छ । राम्ररी सास फेर्न पाइएला कि भनेर आश गर्दागर्दै महिनौँ बितिसक्यो । अहिलेसम्म मुखमा अलिअलि चटाएर भए पनि भुँडीलाई थाममुम पार्दै आइएको थियो । अब अलिअलि चटाउने पनि नहुने भो । त्यसपछि आफ्नो र घरका सबै भुँडी एकैपटक कराउन थाले । आफ्नै गाईजात्रे पारा देखेर आफैँलाई डर लाग्यो । यसरी भएन भनेर बाहिर हेर्दा सडकमा त झन् जताततै गाईजात्रा ।

मान्छे हिँड्नुपर्ने सडकपेटीमा हो तर मान्छेहरू गाडी गुड्ने बीच सडकमै हात र कपाल हल्लाउँदै हिँडिरहेका हुन्छन् । सडकपेटीमा हिँड्न पनि कहाँ सजिलो छ र ? सडक छेउको पसलेले नुनको बोरा र लुगाको पोका सडकपेटीमै चाङ लगाएको हुन्छ । कुरकुरे र लेजको माला, अनि खसी र राँगाको खुट्टा भुइँसम्मै पुग्नेगरी बाहिरै झुन्ड्याइएको हुन्छ । घर बनाउनेले बालुवा, ढुङ्गा र इँटा त्यहीँ असरल्ल छोडेको हुन्छ । बिग्रेको मोटरसाइकल र गाडी बनाउनेले बसेर काम गर्ने ठाउँ पनि त्यही हो । त्यतिले समेत मान्छे हिँड्ने ठाउँ अलिअलि बाँकी रहेको थाहा पाएपछि विद्युत् प्राधिकरणले भूमिगत तार बिच्छ्याएको भन्दै करेन्ट खाँदिएका ठूल्ठूला बाकस त्यही सडकपेटी ढाक्ने गरी राखेको छ । त्यति राख्दा पनि खाली भएको सडकपेटीमा कतै मोटरसाइकल कुदिरहेको हुन्छ, कतै गाडीको आधी भाग सडकतिर र अर्को आधी भाग सडकपेटीतिर हुनेगरी रोकेर राखेको हुन्छ ।

सडकपेटी अर्कैकै भएपछि हिँड्ने मान्छेले बीच सडकमै पाइला चाल्नुपर्‍याे । कहिले गाडीसँग ठोक्किन्छ, कहिले हिँडिरहेको अर्को मान्छेसँग । मान्छेको हुलमा थरीथरीका अनुहार । कोही नाकमुख र पूरै अनुहार नै छोपेर हिँडिरहेको हुन्छ । कोही दायाँबायाँ थुक्दै, खकार्दै र सिँगान फाल्दै । पानी नपरेको बेला थुक र सिँगानमै चिप्लेर लडिने डर ।

सडक छेउछाउका घरबाट बग्ने फोहोर पानी पनि सडकमै छताछुल्ल । कतै पाइपबाट पानी चुहिएर सडकमै मेलम्ची बगिरहेको छ । कतै ढल र नाला चुहिएर सडक नै भिजिरहेको छ । घरबाट कसिङ्गर बढारेर थुप्रो लाग्ने ठाउँ पनि सडक नै हो । फोहोर र दुर्गन्ध तह लगाउने ठाउँ पनि सडक । पातपतिङ्गर र कागज, प्लास्टिक जलाउने ठाउँ पनि सडक ।

सडक छेउछाउका रुख र बिजुलीका पोल चाहिँ चर्पीको भित्तोजस्ता । हिँड्दाहिँड्दै कट्टुमै चुहिन लागेपछि मान्छे हतारहतार सडकको छेउकुनातिर लाग्छ । पोल र रुख देख्नेबित्तिकै छेल पारेर उभिन्छ । झाडी भेटियो भने यताउता हेरेर टुक्रुक्क त्यहीँ बस्छ । न लाज, न घिन । कट्टुमै खुस्किन लागेको दिसापिसाब सडक छेउछाउमा बिसाउन पाउँदा सन्तोषको श्वास फेर्छ । हतारहतार छोड्दा सुरुवाल र पाइन्टमा छिट्टा परेको चाहिँ थाहा पाउँदैन ।

सडक छेउछाउका कतिपय ठाउँ त गाईवस्तु बाँध्ने गोठजस्ता । सडक छेउमै भैँसीले कान हल्लाउँदै पाउर मारिरहेको हुन्छ । गाईले पुच्छर हल्लाउँदै घाँस खाइरहेको हुन्छ । सडकमै बड्कौला छोड्दै बाख्रा कराइरहेको हुन्छ । कतैकतै सडकमा बिस्कुन सुकाएको देखिन्छ । कतैकतै धान, गहुँ र कोदो झारिरहेको भेटिन्छ । घाँस राख्ने ठाउँ पनि सडक, दाउरा राख्ने ठाउँ पनि सडक । आफ्नो घरमाथिको आकाश त आफ्नै हुन्छ भने घर अघिल्तिरको सडक चाहिँ कसरी अर्कोको हुन्छ भनेर आफ्नै ठानेजस्तो नि ।

सडकमा गाडी गुड्दैनन् मात्रै, रोकिन्छन् पनि । एकछिन मात्रै होइन, लामो समयसम्म गाडी पार्किङ गरेर राख्ने ठाउँ पनि सडक नै हो । कतै छेउकुनामा बडेमानका गाडी रोकिएका हुन्छन्, कतै गुड्दागुड्दै थाकेर बीच सडकमै थचक्क बसेका हुन्छन् । कुनैमा झ्यालबाहिर खुट्टा तेर्साएर चालक भित्र सिटमा मस्त निदाइरहेका हुन्छन् । कतै यात्रु स्टोभ सल्काएर भात पकाइरहेका भेटिन्छन् । कतै बिग्रेको गाडी बनाइरहेका हुन्छन् ।

सडक भनेपछि बिजुली, इन्टरनेट, खानेपानी, ढलको समेत साझा थलो हो । सडकवालाले बल्लबल्ल सडक पिच गर्छ । त्यसपछि खानेपानीवालालाई पाइप बिच्छ्याउन जाँगर चल्छ । खानेपानीवालाले पाइप बिच्छ्याएपछि खनेर टालेको पिच देखेपछि त्यसलाई अरू चौडा हुने गरी भत्काएर ढलवालालाई त्यहीँ खन्न हतार हुन्छ । बिजुलीवालाले बीच सडकमै पोल गाड्छ । त्यही पोलमा इन्टरनेटवालाले तार बिच्छ्याउँछ । माकुराको जालोजस्तो कुन तार कसको हो भनेर तार टाँग्नेलाई समेत पत्तो हुन्न । कतै तारैतार जेलिएर छोपिन लागेका पोल । कतै तारको भारले थिचिएर ढलिसकेका पोल ।

बिहेको सिजन हुनुपर्छ, त्यो बेला सडक बेहुला–बेहुली, जन्ती र भोज खानेको मात्रै । सडकको अघिल्तिर जन्ती हिँडेपछि पछिल्तिरका गाडी उनीहरूको सारमा र बाजाको तालमा बिस्तारै नाच्दै गाउँदै गुड्नुपर्छ । भतेर पकाउने र खाने ठाउँ पनि सडक छेउमै हुन्छ । बिहेको सिजन नभएको बेला सडकमा नारा जुलुस, मेला महोत्सवको रौनक भैरहन्छ । कतै प्रहरी र आन्दोलनकारीको ठेलमठेल र भीडन्त । कतै नाचगान र रमाइलो । यस्ता रमाइलामा कतै तपाईँको सहभागिता हुन्छ, कतै मेरो । कतै तपाईँ रमिते, कतै म रमिते । अनि गाईजात्रा हेर्न सिंहदरबार र बानेश्वरलाई पर्खन, अनि प्रज्ञा र नाचघरतिर फर्कन किन पर्‍याे त ?

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया