न्यून चापीय रेखा उत्तरतर्फ सर्दा मनसुनी वायुको प्रभाव धेरै : अझै दुई दिन झरी पर्ने सम्भावना

 भदौ ४, २०८१ मंगलबार ७:४७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर पानी परेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सात वटै प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि मध्यमखालको वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकामा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली नै रहनेछ । देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो  वर्षाको पनि सम्भावना छ ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । मनसुनी वायु सक्रिय भएकाले अझै दुई दिन देशैभर झरी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार लगातार वर्षा नभएपनि २–४ घण्टाको फरकमा पानी रोकिँदै फेरि पर्दै गर्नेछ ।

पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै नवलपुरको डण्डामा १ सय १० मिलिमिटर वर्षा मापन भएको छ । त्यस क्षेत्रमा पर्ने नारायणी नदी र यसका सहायक नदीहरुमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया