सुइरे चौर, लौकी झरना र सम्पादक समाज

 भदौ २६, २०८१ बुधबार १०:२९:४८ | कुमार रञ्जित
unn.prixa.net

काठमाण्डौ – १२ वर्षअघि ‘प्राचीन नेपाल तथा काठमाण्डौ उपत्यकाको उत्तरी प्रवेशद्वार टोखा’ शीर्षकको पुस्तक सम्पादन गर्ने क्रममा प्रगतिशील साहित्यकार तथा शिक्षक प्रभात सापकोटा सहित पहिलो पटक नुवाकोटको ‘सुइरे चौर’पुगेको थिएँ । पुस्तकका लेखक मनिराज डंगोलले हामीलाई त्यहाँ पुर्‍याउनुअघि नै ‘अत्यन्तै रमणीय ठाउँ’ भनेर त्यहाँको वर्णन गर्न भ्याइसकेका थिए ।

त्यतिबेला सुइरे चौरमा एउटा विद्यालय सञ्चालनमा थियो । कमै भए पनि विद्यार्थीहरु खुला चौरमा खेलिरहेका थिए । केही स्थानीयहरु गाई–वस्तु चराइरहेका देखिन्थे । उत्तरतर्फ सुन्दर हिमश्रृङ्खला, तल कबिलास डाँडासहित हरिया पहाडी जनजीवन रहेको नुवाकोटका ग्रामीण भेक र त्यसभन्दा तल सलल बगिरहेको लिखु खोलाले शिवपुरी वनको फेदमै रहेको चौरमा शीतलता प्रदान गरिरहेको थियो ।

त्यसपछिका दिनहरुमा धेरै पटक सुइरे चौर पुगियो । प्रत्येक पटक पुग्दा त्यहाँनयाँ–नयाँ संरचनाहरु बनिरहेको हुन्थ्यो । पर्यटकहरु दिनप्रतिदिन बढिरहेका थिए । केही वर्षमै सुइरे चौर राम्रो पर्यटकीय गन्तव्य जस्तै भयो । त्यहाँ खाने र बस्ने सुविधाहरु राम्रै पाइन्थ्यो ।

युवा–युवतीहरुको घुइँचो जतिखेर पनि रहन्थ्यो । सार्वजनिक विदाका दिनमा त्यहाँ बस्ने ठाउँ हुँदैनथ्यो । स्थानीय बद्री गुरुङ बाले पर्यटकहरुलाई घोडा चढाएर केही आर्जन गर्थे । यसरी बढ्दो पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएपछि त्यहाँ अत्याधुनिक ‘जीपलाइन’ राख्ने योजनासहित परीक्षण पनि गराइयो । यसरी सुइरे चौर बिस्तारै मदिरापान गर्दै युवाहरुको होहल्ला हुने ठाउँमा परिणत हुँदै गयो ।

गएको शनिवार सम्पादक समाज नेपालको निमन्त्रणामा ‘जलवायु परिवर्तनलाई न्यूनिकरण गर्न सघाउ पुगोस्’ भन्ने उद्देश्यले ‘जलवायु परिवर्तनमा सचेत बनौँ’ भन्ने नाराका साथ शिवपुरी नागार्जुन क्षेत्रमा सञ्चारकर्मीहरुको पैदलयात्रा, झरनाहरुको अवलोकनका साथै अन्तरक्रिया कार्यक्रममा सहभागी हुन राजधानीबाट सुइरे चौर पुगेका झण्डै एक सय ३५ जना पत्रकारहरुले त्यहाँ त्यस्तो कुनै पर्यटकीय गतिविधि देख्न पाएनन् ।

भएका सबै संरचनाहरु भत्काइएका थिए । सुइरे चौर युद्धपछिको मैदान जस्तै देखिन्थ्यो । केही युवा आन्तरिक पर्यटकहरु पुगेर पनि त्यहाँ बस्ने खाने केही नपाएर निराश हुँदै फर्किरहेका थिए । विद्यालय भवन पनि सुनसान र बन्द अवस्थामा थियो । देख्ने बित्तिकै अचम्म लागेर आयोजक संस्थाका महासचिव श्याम डोटेलसित सोधेँ, के भएछ यहाँ ? उत्तर आयो, गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले सबै अवैध संरचनाहरु भत्काइदिए ।

अब सबै व्यवसायीहरु आ–आफ्नै निजी स्थानमा गएर व्यवसाय गर्दैछन् । त्यसको लगत्तै भएको अन्तरक्रिया कार्यक्रममा थपलियाले सगौरव घोषणा गरे, हामीले यहाँका सबै अवैध संरचनाहरु हटायौँ, अब यहाँ पर्यटकहरुलाई आकर्षित गर्न ठूलो बुद्ध र महादेवका मूर्ति राख्नेछौँ ।

बाग्मती प्रदेशका सरकार प्रमुख बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकारहरुका तर्फबाट लक्ष्मण अधिकारीको प्रश्न रोचक थियो, सबै विदेशी उत्पादन मात्रै देखिन्छ, यहाँको स्थानीयको जीवनस्तर उकास्न स्थानीय उत्पादन खोइ ?  प्रश्नको जवाफ दिँदै अध्यक्षले उल्टै विदेशी उत्पादन नभई नहुने अवस्थामा पुगेको व्याख्या गर्दै आफ्ना योजनाहरु सुनाए । जवाफ दिने क्रममा उनी स्थानीय जनप्रतिनिधिका रुपमा भन्दा राष्ट्रिय योजनाकारका रुपमा प्रस्तुत भए । उनी आफू निर्वाचित गाउँपालिकाका विशेषतामा ध्यान केन्द्रीत गर्न सकेका देखिएनन् ।

सुइरे चौरको बनिसकेको पर्यटकीय गन्तव्य भत्काएका गाउँपालिका अध्यक्षले लण्डन घुमेको कथा सुनाउन भ्याए, तर आफ्नो गाउँपालिका भरी हरेक वर्ष फल्ने काफल र ऐँसेलु खाने मानिस नपाएर बोटमै कुहिएर जाने अवस्थाबारे बोल्न सकेनन् । जताततै लटरम्म खुर्पानी फल्ने उनले देखेको जस्तो अभिव्यक्तिमा आएन ।

अझ केही वर्षअघि मात्रै देशकै उत्कृष्ट पुरस्कार पाएको ‘सिताके च्याउ’ उत्पादन आफ्नै गाउँपालिकामा हुने गरेको उनलाई थाहै नभएको जस्तो भयो । मदिरा उत्पादन र गाईवस्तु पालन जस्ता स्थानीय नागरिकका जीवनसँग प्रत्यक्ष जोडिने विषयमा उनको प्राथमिकता देखिएन । कार्यक्रमको मूलविषय ‘जलवायु परिवर्तनबाट हुने गरेका प्रभावबाट जोगिने उपाय’ स्थानीय तहमा हुनु पर्दथ्यो । तर बाटाभरी दर्जनौँ ठाउँमा पहिरो गएर यातायात नै अवरुद्ध हुने अवस्था रहेकोमा कुनै चासो देखाइएन । बाटो सुधार गर्नेतर्फ योजना देखिएन ।

केही वर्षअघि बनेको गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रको कार्यालय भवन समेत रहेको सुइरे चौर वरपर नयाँ–नयाँ होटल तथा रिसोर्ट संरचनाहरु बन्दै गरेको देख्न सकिन्छ । तर गुर्जे भञ्ज्याङदेखि त्यहाँसम्म पुग्ने बाटोमा कुनै सुधार गरिएको छैन । वर्षातमा ठाउँ–ठाउँमा भेल बगेर हिँड्न नहुने अवस्था छ । त्यस्तो अवस्था सुधारतर्फ जनप्रतिनिधिको जोड पुगेको देखिँदैन । 

अर्कोतर्फ शिवपुरी र ककनी गाउँपालिकासित सीमाना जोडिएको केही वर्षयता चर्चामा आएको लौकी झरनासम्मको पैदलयात्रा रमणीय थियो । यात्रामा पुगेका पत्रकारहरुले झरनाको आनन्ददायी दृश्यावलोकन गरे । खुशीले गद्गद् हुँदै अधिकांशले तत्काल सामाजिक सञ्जालभरी फोटो रङ्गाए ।

समाजका अध्यक्ष वरिष्ठ पत्रकार पुरु रिसालको हिँडाइ उत्साहपूर्ण थियो । झरनामै पुग्ने गरी स्थानीय वडा नम्बर ८ का नागरिकको अथक परिश्रमको फलस्वरुप गाउँपालिकाको सहयोगमा एकमात्र पैदलमार्ग बनेपछि त्यस झरनासम्म हजारौँ पर्यटकहरु पुगिसकेका छन् ।

त्यसै ठाउँमा नजिकै अर्को सानो झरना पनि रहेकाले झरना प्रेमीहरुलाई तृप्त हुनेगरी मनोरञ्जन प्रदान गर्न सकिने साथै झरनाका कारण स्थानीयमा पर्यटन व्यवसाय राम्रै फस्टाउने आशा जगाएको व्यवसायी गोपाल सिलवाल बताउनु हुन्छ । 

तीन वर्षअघिसम्म वर्षामा गाडी गुड्न नसकेर तानेर लानुपर्ने अवस्था रहेको शिवपुरीको गुर्जेदेखि थानाभञ्ज्याङमा मूलमार्ग ढलान गरेर बनाइएपछि टोखादेखि छहरेसम्म मात्रै होइन, भक्तपुरदेखि केरुङसम्मका यात्रु र मालवाहक गाडीलाई आवत–जावत गर्न सहज भएको छ । शिवपुरी वरीपरी माटोमा लगानी गर्ने व्यवसायीहरुको कारोबार बढेको छ । अब टोखादेखि छहरेसम्मको सुरुङमार्ग बन्ने राष्ट्रिय योजनाले गर्दा नुवाकोटतर्फ ठूलो उत्साह थपिएको पाइन्छ । 

यस्तो अवस्थामा सुइरे चौरमा केन्द्रीय कार्यालय खोलेर पत्रकारिताको तालिम कक्षाहरु सञ्चालन गर्ने योजना लिएको सम्पादक समाजले स्थानीय तहका जनप्रतिनिधिहरुलाई राम्रै आकर्षित गरेको देखिएको छ । नेपाल पत्रकार सङ्घ (हाल महासङ्घ) का सभापतिसमेत भइसक्नुभएका स्वर्गीय गोविन्द वियोगीको सपना साकार पार्न उहाँका ज्येष्ठ सुपुत्र किरण वैद्य सक्रियतापूर्वक लागिरहनुभएको छ ।

अन्त्यमा, भविष्यमा यस्तो छोटो समयमा दौडादौड गरेर पनि नभ्याउने कार्यक्रम नगरिकन उद्देश्यमूलक साथै फलदायी कार्यक्रम गर्न सहभागी पत्रकारहरुका तर्फबाट सुझाव दिइएको छ । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया