सहकारी छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक, रवि लामिछानेसहितलाई कारबाही सिफारिश

जीबी राई र उनका आफन्तबाट मात्रै २ अर्बभन्दा धेरै अपचलन भएको ठहर

 असोज ४, २०८१ शुक्रबार १४:४२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत एक हजार एक सय २४ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो ।

छानबिन समितिले भदौ ३१ गते प्रतिनिधिसभामा प्रतिवेदन पेश गरेको थियो । त्यही दिन सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारलाई पठाउन निर्देशन दिनुभएको थियो । मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले कार्यान्वयन गर्ने निर्णय गरेर छानबिन प्रतिवेदन गृह मन्त्रालयमा पठाएको छ ।

सांसद सूर्य थापाको नेतृत्वमा गठन भएको विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिश गरेको छ । सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरेर अपचलन गरेको छानबिन समितिको ठहर छ ।

प्रतिवेदनमा लामिछाने प्रबन्ध निर्देशक हुँदा विभिन्न सहकारीबाट झन्डै ८५ करोड रुपैयाँ ऋण गोरखा मिडिया नेटवर्कका नाममा आएको भेटिएको उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने २०७७ चैत २५ देखि २०७९ असारसम्म गोरखा मिडिया नेटवर्कका शेयरधनी हुनुहुन्थ्यो ।  

समितिले गोरखा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ । लामिछानेले समितिमा बयानका क्रममा गोरखा मिडियाको आर्थिक कारोबारमा जीबी राई नै जिम्मेवार हुने बयान दिनुभएको थियो ।

यस्तै प्रतिवेदनमा गोरखा मिडिया नेटवर्क प्रालीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र उनका आफन्तको नाममा मात्रै सहकारी कानून विपरीत ऋण तथा पेश्की गरी दुई अर्ब ५८ करोड रुपैयाँ बराबर अपचलन भएको उल्लेख छ ।

नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि जेठ १५ गते समिति बनेको थियो ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन यहाँ पढ्न सकिन्छ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया