अमेरिकामा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने

 असोज ५, २०८१ शनिबार १७:५३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा साइडलाइनमा नेपाल र भारतका प्रधानमन्त्रीबीच वार्ता हुने तय भएको हो । द्विपक्षीय भेटवार्ताको लागि नेपालले अघिल्लो हप्ता नै प्रस्ताव गरे पनि भारतले जवाफ दिएको थिएन ।

गएराति प्रधानमन्त्री ओली न्यूयोर्क पुग्नुभन्दा केही समयअघि भारतीय पक्षले मोदी द्विपक्षीय भेटवार्ताको लागि तयार रहेको जानकारी दिएको हो । न्युयोर्कको स्थानीय समयअनुसार आइतवार बेलुका साढे ५ बजे ओली र मोदीबीच भेटवार्ता हुने छ ।

भारतीय प्रधानमन्त्री मोदी अमेरिकाको विल्मिङटनमा हुने अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड राष्ट्रका नेताहरुको समिटमा भाग लिन जानुभएको हो । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नुभएको छ ।

ओली र मोदीबीच यसअघि नै थाइल्यान्डमा हुने भनिएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनका बेला साइडलाइनमा भेटवार्ता हुने कार्यक्रम तय गरिएको थियो । तर भदौ १८ र १९ मा हुने भनिएको सम्मेलन थाइल्यान्डको नयाँ राजनीतिक घटनाका कारण स्थगित भयो ।

त्यसपछि अब न्यूयोर्कमा भेटवार्ता हुने भएको हो । ओली पहिलो र दोस्रोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमणबाटै विदेश यात्रा शुरु गर्नुभएको थियो । यस पटक अमेरिकाबाट विदेश भ्रमण शुरु गर्नुभएको हो । यस पटक प्रधानमन्त्री भएपछि भारतबाट भ्रमणको निम्तो आएको छैन ।

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको क्रममा मोदीलाई नेपाल भ्रमणको औपचारिक रुपमा निमन्त्रणा पठाउनुभएको छ । परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नुभएको थियो । त्यो भेटमा पनि भारतले नेपाली प्रधानमन्त्रीलाई भ्रमणको निम्तो नदिनुलाई महत्त्वका साथ हेरिएको छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया