आज कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

 असोज १०, २०८१ बिहीबार ९:१९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । दिउँसोपछि सबै प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । तराईका केही ठाउँमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आजदेखि आउँदो आइतवारसम्म ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्न सक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् रेड अलर्टमा राखेको छ ।

महाशाखाले तत्काल धान नकाट्न र ट्रेकिङमा नजान आग्रह गरेको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँ तथा मधेस, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा भने अति ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बङ्गालकाे खाडीबाट र अरब सागर दुवैतिरबाट उच्च जलवाष्पसहितको वायु नेपालतिर आइरहेकोले देशभर उच्च वर्षाको सम्भावना रहेको हो ।

मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नसरे पनि मनसुन सक्रिय गराउने न्यूनचापीय प्रणाली सघनरूपमा विकास भएको महाशाखाले जनाएको छ । यस्तै उपल्लो वायुमण्डलमा पनि न्यूनचापीप प्रणाली विकास भएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । तर यस वर्ष अक्टोबर ७ अर्थात् असोज २१ गतेसम्म मनसुन कायम रहने मौसमविदको अनुमान छ ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया