२ महिनादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन, निरन्तरकाे वर्षाले अरू केही सडक बन्द

 असोज ११, २०८१ शुक्रबार १३:१७:२३ | रासस
unn.prixa.net

फाइल फाेटाे

बाग्लुङ – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङ खण्ड दुई महिनापछि सञ्चालन भएको छ ।

बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्र्याक बगाउँदा गएको साउन ९ गतेदेखि बाग्लुङ खण्ड पूर्णरूपमा अवरुद्ध थियो । सडकको ट्र्याकलाई पुरेर आजदेखि नियमित गाडी चल्न थालेका जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले जानकारी दिनुभयो । सडक पटक–पटक अवरुद्ध भएपछि बाग्लुङ नगरपालिका र कालीगण्डकी करिडोर आयोजनाले खुलाउने प्रयास गरे पनि दुई महिनापछि सञ्चालनमा आएको उहाँले बताउनुभयो । यसअघि करिडोरको विकल्पमा दब्ल्याङ–कालाखोला खण्डलाई सञ्चालनमा ल्याइएको थियो ।

यसैबीच अरू केही सडक भने आशिंक तथा पूर्णरूपमा अवरुद्ध छन् । हिजो बेलुकादेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७ चारसय बेँसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार लेदोसहितको पहिरोले अवरुद्ध सडक पूर्णरूपमा खुलाउने प्रयास भइरहेको छ ।

निरन्तरको वर्षाले राप्ती लोकमार्ग अवरुद्ध छ । लोकमार्गको विभिन्न ठाउँमा पहिरो खसेको छ । दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि पर्सि १३ गतेसम्म सडक मर्मत हुने भएकाले तत्काललाई ठूला गाडी टिपर र ट्रक चलाउन रोक लगाइएको छ ।

यस्तै पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाण्डौ जोड्ने सडक बन्द भएकाे छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरामा पहिरोले बिहानदेखि भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाण्डौ जोड्ने बाटो बन्द भएको हो । स्थानीयबासिन्दा, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्रयास गरिरहेका छन् । काठमाण्डौबाट हेटौँडा र हेटौँडाबाट फाखेल हुँदै काठमाण्डौ आउने/जाने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको अनुरोध छ ।

त्यस्तै पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ खण्ड पनि सञ्चालनमा आएको छैन । गएराति मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखामा पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको हो । पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया