दशैँको टीकाको साइत हेर्ने चलन, महत्त्व के छ ?

 असोज २६, २०८१ शनिबार ७:५०:१० | दामोदर न्याैपाने
unn.prixa.net

काठमाण्डौ – आज बडादशैँको मुख्य दिन, विजयादशमी । असोज शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशीमा टीका लगाइन्छ । आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा तथा प्रसाद लगाइन्छ । विजयादशीको टीका लगाई दिँदा यश, ऐश्वर्य वृद्धि एवम् दीर्घायु प्राप्त होस् भन्ने जस्ता आशीर्वाद दिइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत निकालेको छ । यस्तै बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने साइत छ ।

टीकाको साइत र महत्त्व 

हाम्रा विभिन्न ठूला पर्वमा साइत हेर्ने/खोज्ने चलन छ । विजयादशीमा त साइतलाई अझ धेरै महत्त्व दिइन्छ । विजयादशमीको दिनलाई आफैँमा शुभ मानिन्छ । तर विजयादशमीको टीका लगाउन साइत नै किन खोजिन्छ भन्नेबारे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल भन्नुहुन्छ, ‘साइत भनेको शुभ समय हो, शुभ समयमा गरेका कुराहरूको शुभ फल प्राप्त हुन्छ । मुख्यतया देवीको आराधना गर्न, देवीको विसर्जन गर्न मुख्य शुभ समय रह्यो भने देवी खुशी भएर आउने र वरदान दिने भन्ने शास्त्रीय मान्यता छ ।’

तर सबैले साइतमै टीका लगाउन नभ्याउन पनि सक्छन् । यस्तो बेला के गर्ने त ?

‘साइतमा नभ्याउनेले पनि आफ्नो अनुकूलमा टीका लगाउन सकिन्छ । देवीको आवाहन गर्ने, पूजा गर्ने, विसर्जन गर्ने सबै बिहानको समयमा हो । तैपनि राम्रो समयमा हेरेर गर्छु भन्नेलाई साइत हो’, कार्यकारी निर्देशक ढुङ्गेलले भन्नुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जुराएको बिहान ११ बजेर ३६ मिनेटको शुभसाइतमै टीका लगाउनका लागि घरघरमा तयारी भइरहेको छ । तर यो साइतमै टीका लगाउन सबैलाई पायक नपर्न सक्छ । साइतमा टीका लगाउन नभ्याउँदैमा बरबाद भयो, टीका लगाउन बिग्रियो भन्ने ठान्न पर्दैन भन्नुहुन्छ समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल ।

‘११ बजेर ३६ मिनेटमा टीका लगाउन शुरू गर्ने समय हो । हाम्रो परम्पराअनुसार नभ्याएकाले पूर्णिमासम्म माइत, मावली, ससुराली गएर टीका लगाउन चलन त छँदैछ । साइत कुर्दा काम बिग्रने भयो भन्नु पनि पर्दैन । बेलुकासम्म, जतिबेरसम्म पनि टीकाको दिन टीका लगाउन सकिन्छ । तर सबैभन्दा राम्रो शुभ समयमा लगाउँदा शुभ फल बढी प्राप्त हुने हुनाले शुभ समय खोजिएको छ । राष्ट्रप्रमुखहरूले शुभ समयलाई ध्यान दिनुपर्ने हुन्छ । सर्वसाधारणले भने सामान्य अवस्थामा साइत कुरिरहनुपर्दैन’, उहाँले भन्नुभयो ।

पहिलो परापूर्वकालमा राजामहाराजाका पालादेखि साइत जुराउने चलन रहेकोमा अहिलेसम्म पनि त्यसले निरन्तरता पाएको र सर्वसाधारणले पनि साइत नै खोज्ने गरेको ढुङ्गेलको भनाइ छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया