दशैँमा देश छाड्नेको दुःखेसो : ‘कम्पनीको साहूले बरू जागिर छाड्न सक्छौ बिदा थप्न मिल्दैन भन्यो’

 असोज २६, २०८१ शनिबार ९:७:४२ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – ‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दशैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिएँ, मलेसियाबाट कम्पनीको साहूले बरू जागिर छाड्न सक्छौ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दशैँ र परिवारभन्दा जागिर प्यारो भयो सर’, सर्लाहीका अजय मेहताले भन्नुभयो ।

दशैँको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो । हिजो शुक्रवार साँझपख बोर्डिङ पास लिनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दशैँको अघिल्लो दिन घर छाड्नु निकै कष्टहर भयो । सर्लाहीको घरमा हिजो गर्भवती श्रीमति चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उहँका पनि आँखा टिल्पिलाए ।

मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ । दशैँको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितीले पूरा हुन दिएन । ‘दशैँ  मनाएरै जान्छु भन्ने त थियो तर मेरो रहरलाई बाध्यताले जित्यो’, उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारीका लागि साउदी हिँडेका यादवले कम्पनीले दुई महिनाको छुट्टी दिएको थियो । तर दुई महिनाको लामो छुट्टीमा पनि दशैँ एक दिनले अट्न सकेन । ‘कम्पनीममा फोन गरेर बिदा लम्बाउन सकिन्छ कि प्रयत्न गरेको हो नि, तर मिलेन, उनीहरुलाई हाम्रो दशैँको महत्व थाहा नभएर पनि हुन सक्छ’, उहाँले भन्नुभयो ।

दशैँको अघिल्लो दिन विमानस्थलको भीडमा धनुषाका विनयकुमार यादव पनि भेटिनुभयो । विमान चढ्नुअघि सम्झनाका लागि केही थान तस्बिर लिँदै गरेका उहाँ पनि कामको सिलसिलामा साउदी अरब हिँडेका रहेछन् । महान पर्व दशैँका बीचमा परिवार र आफन्त छाड्नुपर्दाको पीडा उहाँको मनमा पनि गडेर बसेको छ । ‘अरू दशैँमा घर आउँछन्, हामी दशैँमा छाड्नु परेको छ । यो हाम्रो बाध्यता भयो, यहाँ म जस्ता हजारौँको पीडा पनि उस्तै त होला भनेर चित्त बुझाएको छु’, उहाँले भन्नुभयो । उहाँले साउदी अरबमा मर्मतसम्बन्धी कम्पनीमा काम गरिरहेको बताउनुभयो ।

वैदेशिक रोजगारीका लागि दशैँ छाडेर कतार हिँडेका चितवनका अरुण रम्तेलको मन पनि निको छैन । प्लस टुमा होटल व्यवस्थापनको पढाइ पूरा गरेपछि उहाँ जागिर खोज्दै विदेश हिँडेका रहेछन् । बुबा मलेसियामै काम गरिरहनुभएकाले आफू पनि विदेश नै रोजेको उहाँले सुनाउनुभयो ।

आमा सम्झना रम्तेलले आशु पुछ्दै विमानस्थलको टर्मिनलमा छोरालाई नेपालको झन्डा पहिराएर बिदाइ गर्दा अरुणका पनि आँखा रसाए । रम्तेलले भन्नुभयो, ‘बाबा पनि विदेशतिरै हुनुहुन्छ, भाइको पढाइ र घरखर्चका लागि म पनि त्यतै जानुपर्ने भयो, भिसा र टिकटको काम सकिएपछि दशैँका लागि कुर्न सकिएन’, उहाँले भन्नुभयो ।

त्यसैगरी लुम्बिनीका ओमप्रकाश चौबे वैदेशिक रोजगारीका लागि दुबईका लागि प्लेन चढ्नु अघि विमानस्थलको टर्मिनल मै भेटिनुभयो । केही समयअघि बिदा लिएर घर आएका चौबेले दशैँमा आफै मात्रै होइन भतिज अजय चौबेलाई पनि सँगै लैजाँदै हुनुहुन्थ्यो । अजय चौबेले कक्षा नौको पढाइलाई अधुरै छाडी विदेश हिँड्नुभएको रहेछन् ।

नेपालगञ्जकी २४ वर्षीय रेखा खत्रीको पनि जापान जाने टिकट दशैँकाे अघिल्लो दिन नै परेछ । नेपालमा अध्ययन गरे पनि रोजगार नपाएपछि विदेशिन बाध्य भएको उहँले सुनाउनुभयो । ‘प्लस टु सकेर चार वर्ष कृषि विषय पढे तर केही पनि काम पाइन । अहिले डेढ वर्ष जापानिज भाषा पढेर जापान हिँडेकी छु’, उहाँले भन्नुभयो ।

जापान जाँदै गरेकी बहिनीलाई बिदाइ गर्न विमानस्थल पुगेका काठमाण्डौ तारकेश्वरका इन्द्र रानामगरले टिकट नमिलेका कारण दसैँको मुखमा छुट्टिनु परेको दुःखेसो पोख्नुभयो । ‘परिवारका सबै सदस्यसँगै बसेर दशैँको टीका लगाउन त मन थियो नि, परिस्थितिले त्यस्तै गर्यो, टिकट मिलाउनै सकिएन’, उहाँले भन्नुभयो ।

महानवमीको दिन गाउँ तथा सहरमा दशैँ मनाइरहँदा उनीहरु जस्ता हजारौँले दशैँको मुखमा पैसा कमाउनका लागि देश छाडे । उनीहरुलाई बिदाइ गर्न विमानस्थलसम्म पुग्नेहरुका अधिकांशले भिजेका आँखाले बिदाइ गरेको दृश्य अत्यासलाग्दो देखिन्थ्यो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया