सय दिनको समीक्षा चुनावपछि बन्ने सरकारको कि पटकपटक बन्ने सरकारको ?

 कात्तिक ७, २०८१ बुधबार १२:३१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

दुई ठूला दल कांग्रेस र एमालेको गठबन्धन सरकारको सय दिन पुगेको भन्दै पक्ष र विपक्षमा समीक्षा भइरहेको छ । प्रधानमन्त्री र मन्त्रीहरू अरू महत्त्वपूर्ण काम छाडेर आफ्ना सय दिनको उपलब्धि खोज्न व्यस्त छन् । विपक्षी दलका नेताहरूलाई सरकारको कमजोरी खोतल्न भ्याइनभ्याइ छ । २०७९ को चुनाव भएको दुई वर्ष पुग्नै लाग्दा भर्खरै चुनाव भएर सरकार बनेको जस्तो गरी दल र नेताहरू सय दिनको हरहिसाबमा अल्झिएका छन् । वास्तवमा चुनावपछि गठन भएको सरकारको पहिलो एक सय कार्यदिनलाई राजनीतिक रूपमा मधुमास अर्थात् 'हनिमुन पिरियड' मानिन्छ । किनभने प्रतिपक्षबाट पनि यस अवधिमा सरकारलाई उसको नीति, विचार र योजनाअनुसार काम गर्न दिइन्छ । सरकारले यही अवधिमा भावी कार्यको शुरुआती सन्देश दिन्छ । त्यही आधारमा सरकारप्रतिको नागरिकको धारणा पनि बन्छ ।

तर अहिले चुनावपछि बनेको सरकारको सय दिन होइन । २०७९ मङ्सिरमा चुनाव भएपछिको झन्डै दुई वर्षको अवधिमा चारपटक सरकारको गठबन्धन फेरिएको छ । २०७९ मङ्सिरमा चुनाव भएपछि पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमालेको साथ लिएर प्रधानमन्त्री बन्नुभयो । त्यसअघि चुनावमा गठबन्धन गरेका कांग्रेस र माओवादीबीच प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको नेताहरूको भनाइ थियो । तर चुनावमा कांग्रेस ठूलो पार्टी बनेपछि सभापति शेरबहादुर देउवाले प्रचण्डलाई नभई आफैँ प्रधानमन्त्री बन्ने प्रयास गर्नुभयो । त्यसपछि प्रचण्डले एमाले अध्यक्ष ओलीको साथ खोज्नुभएको हो । त्यति बेला प्रचण्ड र ओलीबीच सत्ता साझेदारीको भद्र सहमति भएको थियो । तर दुई महिनापछि नै प्रचण्डले फेरि कांग्रेससँग सत्ता साझेदारी गर्नुभयो । ओलीको सहयोगमा प्रधानमन्त्री बनेर दुई महिनामै कांग्रेससँग सहकार्य गरेका प्रचण्डले चैत २० गते सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्नुभयो ।

प्रचण्डले सत्ता साझेदार फेरेपछि उहाँ स्वयम्, देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आलोपालो गर्ने सहमति भएको भनिएको थियो । तर २०८० फागुनमा प्रचण्डले फेरि एमालेसँगै सत्ता साझेदारी गर्नुभयो । साझेदार दल र मन्त्रीहरू मात्र फेरिएकाले प्रचण्डलाई त्यसपछिको अर्को सय दिनको उपलब्धिको हरहिसाब गर्नु परेन । त्यसपछि प्रचण्डलाई विस्थापन गर्ने गरी कांग्रेस र एमालेबीच असार १७ गते राति सहमति भयो र ३० गते ओलीको नेतृत्वमा कांग्रेस–एमालेको गठबन्धन सरकार बन्यो । अहिले त्यही सरकारको सय दिनको समीक्षा भइरहेको हो ।

खासमा चुनावपछि सरकार बनेको सय दिनसम्मलाई 'हनिमुन पिरियड' का रूपमा चर्चा गरिन्छ । त्रिभुवन विश्वविद्यालय राजनीतिकशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक ईश्वरी कँडेलले उज्यालोसँग भन्नुभयो, ‘जसरी हनिमुन भनेको बिहेपछि एकपटक हुन्छ, त्यसैगरी सरकारको हनिमुन पिरियड अर्थात् सय दिनको समीक्षा पनि पटक–पटक हुँदैन ।’ तर पटक–पटक सरकार फेरिरहने भएकाले आमचुनावको एक कार्यकाल पूरा नहुँदै पटक–पटक 'हनिमुन पिरियड' भन्दै सरकारको सय दिनको समीक्षामा अल्झने प्रवृत्ति सामान्य हुन थालेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया