चक्रवात आँधी 'दाना' जमिनमा बज्रिएपछि भारतको ओडिशा र पश्चिम बङ्गालमा ठूलो वर्षा

 कात्तिक ९, २०८१ शुक्रबार १८:१७:३२ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

तीव्र चक्रवाती आँधी 'दाना' जमिनमा बज्रिएपछि पूर्वी भारतीय राज्य ओडिशा र पश्चिम बङ्गालका तटीय क्षेत्रहरूमा ठूलो वर्षा भएको छ । ओडिशाको केन्द्रपारा जिल्लाको भितरकनिका र भद्रकको धामराको बीचमा बज्रिएको आँधीले ठूलो वर्षा भएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

झन्डै एक सयदेखि एक सय १० किलोमिटर प्रतिघण्टाको गतिमा आएको चक्रवातले ओडिशा र पश्चिम बङ्गालका धेरै क्षेत्रमा रुखहरू ढलाउनुका साथै बिजुलीका तारमा क्षति पुर्‍याएको छ । चक्रवातले केही अत्यावश्यक सेवाहरूमा बाधा पुगेको र बालीमा क्षति पुगेको तथा प्रभावित क्षेत्रको जनजीवनमा असर गरेको खबरमा उल्लेख छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार 'दाना' चक्रवात उत्तर ओडिशा हुँदै उत्तर–पश्चिमतर्फ बढ्ने र आउँदा घण्टामा बिस्तारै कमजोर हुने सम्भावना छ ।

चक्रवातको अवधिमा सावधानीका लागि बन्द गरिएका भुवनेश्वर र कोलकाताका हवाई तथा रेल सेवाहरू शुरू भइसकेको अधिकारीहरूले जनाएका छन् । प्रभावित राज्यका स्थानीय सरकारहरूले यसअघि झन्डै १० लाख जना मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी विद्यालयहरू बन्द गरेको सूचना जारी गरेका थिए ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया