काठमाण्डौमा प्रदूषण बढ्दो : आज बिहान विश्वकै प्रदूषित शहरको दो...
फागुन २८, २०८१ बुधबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा राजावादीको चलखेलमा सङ्गठित प्रयास भइरहेको बताउनुभएको छ । उहाँले पुरातनपन्थी राजतन्त्रवादी हौसिएका र यसमा वर्तमान सरकारको कमजोरी रहेको टिप्पणी गर्नुभयो ।
आज प्रतिनिधिसभा बैठकमा सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले राजावादीको चलखेल किन बढ्दै गयो भन्दै सरकारलाई प्रश्न गर्नुभयो । उहाँले भन्नुभयाे, ‘वर्षाैंसम्म राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरूले अहिले सडकमै ओर्लिएर चुनौती दिएका छन् । यसका पछाडि सङ्गठित प्रयास छ । देशभित्र र बाहिरका चलखेल मिसिएका छन् ।’
आठ महिनाअघि माइतीघर मण्डला खाली हुँदै गएकाे तर अहिले सहकारी, लघुवित्त पीडित, शिक्षक, किसान, महिलालगायत सबै आन्दोलनमा रहेका भन्दै प्रचण्डले अवस्था जटिल बनेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय आन्दोलनबाहेक अरू विकल्प देख्न छाड्नुपर्ने अवस्था किन आयो भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले गणतन्त्रको विकल्प निरङ्कुशता नभई समाजवादी गणतन्त्र भएको बताउँदै गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयाे । लोकतन्त्रमा अहिले निकै चुनौती आएको भन्दै प्रचण्डले चिन्ता व्यक्त गर्नुभयो । वर्तमान दुई तिहाइको सरकार बिचौलियाले चलाएका समेत उहाँकाे आरोप छ ।
यसैबीच आफ्नाे सम्बाेधनमा प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा उपस्थित नभएकाे भन्दै प्रचण्डले गुनासाे गर्नुभएकाे छ । कोशी प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम रहेकाले प्रधानमन्त्री ओली अनुपस्थित हुनुभएकाे हाे । यसअघि गएकाे गएकाे माघ २४ गते प्रचण्डले संसद्मा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली संसद्मा अनुपस्थित हुनुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।