काठमाण्डौमा प्रदूषण बढ्दो : आज बिहान विश्वकै प्रदूषित शहरको दो...
फागुन २८, २०८१ बुधबार
काठमाण्डाै – लसुनको आयातमा तत्काल कुनै रोक नलगाएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. मतिना जोशी वैद्यले मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै दुई हप्तादेखि चीनबाट नेपाल भित्रिने लसुनमा रोक लगाएको भन्ने बाहिर आएको विषयमा अहिलेसम्म कुनै पनि निर्णय नभएको दाबी गर्नुभयो ।
प्रवक्ता वैद्यले आयातित वस्तुमा प्रतिबन्ध लगाउने निश्चित विधि र प्रक्रिया हुने भन्दै अहिले बाहिर आएका हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । आयात गर्ने देशबाट (पीआरए पेस्ट रिक्स एनालाइसिस) अनुमति लिएको लसुन आयातमा कुनै समस्या नरहेको उहाँकाे भनाइ छ । आयातित वस्तुहरूबाट देशभित्र खाद्यबालीमा पर्ने प्रभाव, मानव स्वास्थ्यमा पर्ने प्रभाव, जीवजन्तुमा पर्ने प्रभावका विषयमा पूर्ण प्रत्याभूत भएर मात्रै वस्तुहरू भित्रने मापदण्ड रहेको उहाँले बताउनुभयो ।
अवैध तरिकाले भित्रिने लसुन मात्र नभई जुनसुकै सामानमा प्रतिबन्ध वा रोक लाग्ने विषय रहेकाे तर अहिले कुनै पनि कृषिजन्य आयातित वस्तुमा रोक लगाउने अवस्थामा मन्त्रालय नरहेको प्रवक्ता वैद्यले उल्लेख गर्नुभयाे ।
पछिल्लो समय लसुनको अस्वाभाविक आयात भएको भने कृषि मन्त्रालयले स्वीकार गरेको छ । यसैबीच चालू आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा नेपालमा ६ अर्ब रुपैयाँभन्दा धेरैकाे लसुन आयात भएको भन्सार विभागको तथ्याङ्क छ । नेपालमा वार्षिक ३९ मेट्रिक टन अर्थात् १ अर्ब रुपैयाँभन्दा कमको लसुन खपत हुने गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्क छ ।
वार्षिक खपतभन्दा ६ गुणा बढी लसुन भित्रिएको अवस्थामा त्यो कहाँ जान्छ भन्ने प्रश्न उठेपछि सरकारले त्यस विषयमा चासो देखाएको छ । ठूलो परिमाणमा लसुन आयात हुनु देशको आन्तरिक खपतका लागि हो वा अन्य कुनै कारण छ भन्ने आशङ्का छ । भन्सार विभागले पनि यसलाई अस्वाभाविक आयात भएको उल्लेख गरेको छ ।
अस्वाभाविक रूपमा ठूलो मात्रामा लसुन आयात भए पनि त्यसको भाउ घट्नुपर्नेमा उल्टै आकाशिएको छ । धेरै परिमाणमा आएको लसुनको भाउ सस्तो हुनुपर्ने मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ एवम् सूचना अधिकारी महानन्द जोशी बताउनुहुन्छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा १ किलो चिनियाँ लसुनको भाउ २ सय ७० रुपैयाँ छ । तर उपभोक्ताले बजारमा १ किलो लसुनको ५ सय रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ । नेपालमा वार्षिक १२ हजार मेट्रिक टन लसुन उत्पादन हुने गरेको तथ्याङ्क छ । उत्पादन भएको लसुनको भण्डारण गर्ने पूर्वाधार भने छैन ।
वरिष्ठ कृषि अर्थ विज्ञ जोशीले नेपालमा अस्वाभाविक परिमाणमा किन लसुन आयात भइरहेको छ भन्ने थप अनुसन्धानको विषय रहेको बताउनुभयो । ‘मासिक १ अर्ब रुपैयाँको लसुन खपत गर्ने उपभोक्ता नै छैनन्’, उहाँले उज्यालोसँगको कुराकानीमा भन्नुभयो, खपतको ५ देखि ६ गुणा लसुन आयात हुन्छ र त्यो कहाँ जान्छ ?’ ठूलो परिमाणमा लसुन आयात हुँदा पनि भाउ नघट्नुमा आशङ्का रहेको जोशीले बताउनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवम् सह–सचिव जीतेन्द्र बस्नेतले लसुन सरकारले प्रतिबन्ध लगाएको वस्तु नभएकाले कति परिमाणमा आयात भयो वा निर्यात भयो भन्ने विषयलाई सामान्य रूपमा लिनुपर्ने बताउनुभयो । बजारमा माग र आपूर्तिका आधारमा मूल्य निर्धारण हुने भएकाले यसमा सरकारको खासै भूमिका नरहने उहाँको भनाइ छ ।
कालोबजारी, अवैध निकासी र पैठारी, अस्वाभाविक मूल्यवृद्धि लगायतका विषयमा अनुगमन भइरहेको प्रवक्ता बस्नेतले उल्लेख गर्नुभयाे । मन्त्रालय मातहत रहेको वाणिज्य विभागले बजार अनुगमन गर्ने उहाँले बताउनुभयाे । उपभोक्ताबाट कुनै गुनासो आएको खण्डमा आफूहरू तत्काल बजार अनुगमनमा जाने गरेको उहाँको भनाइ छ ।
वाणिज्य, संरक्षण तथा उपभोक्ता संरक्षण विभागका निर्देशक डीकबहादुर कार्कीले यसबारे विभागलाई जानकारी नभएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।