तहगत सरकारको कार्यविभाजन स्पष्ट बनाउने काम भइरहेको छ : प्रधानमन्त्री ओली

 चैत १०, २०८१ आइतबार १८:२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवा प्रवाहलाई थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाई राज्यप्रदत्त सेवामाथि सबैको पहुँच पुर्‍याउन सरकारले आफ्नो प्रयास केन्द्रित गरेको बताउनुभएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित प्रमुख कार्यहरू समेटी तयार पारिएको सरकारको नवाैं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएको हो । उहाँले सरकारले लिएका नीति र कार्यक्रमबाट विद्यार्थीले विद्यालयमा भर्नासँगै पाठ्यपुस्तक पाउने अवस्था सुनिश्चित भएको बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले बाली लगाउने समयमा किसानलाई मल उपलब्ध गराइएको र मल खरिद एवम् आपूर्ति व्यवस्थापनमा बजेटको अभाव हुन नदिने गरी चालू आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरिएको दाबी गर्नुभयो । उहाँले नागरिकता, राहदानी, लाइसेन्स, विदेश अध्ययनका लागि नो अब्जेक्शन लेटर लगायतका सेवाहरूमा घण्टौं लाइन लाग्ने अवस्थाको अन्त्य गरिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले शीघ्र सार्वजनिक सेवा र सुशासनका क्षेत्रमा वर्तमान सरकारले शुरू गरेको नागरिक एप त्यस्तै एउटा पहल भएको उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवा प्रवाहलाई थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाउन सरकारले आफ्नो प्रयास केन्द्रित गरेको छ । राज्यका सेवा प्राप्त गर्न निकायपिच्छे वैयक्तिक विवरण पेश गर्नुपर्ने अवस्थाको अन्त्य गर्न विभिन्न निकायका सेवा प्रणालीहरूबीच अन्तरआबद्धता गर्ने प्रक्रिया शुरू गरिएको छ ।’

प्रधानमन्त्री ओलीले सरकार प्रशासनिक तथा वित्तीय सङ्घीयतालाई थप सुदृढ बनाउन विभिन्न सुधारका कार्यहरूमार्फत प्रयासरत रहेको बताउनुभयो । यस अवधिमा बिजुली उत्पादन र प्रसारण लाइन विस्तारसँगै अन्तरदेशीय विद्युत् व्यापार गर्न समेत नेपाल सफल भएको उहाँकाे भनाइ छ ।

प्रधानमन्त्रीले आर्थिक वर्ष २०८०/०८१ सम्ममा ६८ वर्षमाथिका १६ लाख ८९ हजार एक सय ९६ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता र आठ लाख ३६ जना बालबालिकाले बाल संरक्षण अनुदान प्राप्त गरेको जानकारी गराउनुभयाे । यस्तै ९९ दशमलव ९ प्रतिशत बालबालिका पूर्वप्राथमिक शिक्षामा भर्ना भएका र घरजग्गा स्वामित्व पुगेको महिला २५ प्रतिशत पुगेका उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया