अहिलेको संसद राजतन्त्र माग गर्ने ठाउँ होइन : नागरिक अगुवा

 चैत १२, २०८१ मंगलबार १०:४९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नागरिक समाजका अगुवाहरुले अहिलेको संसद राजतन्त्र माग गर्ने ठाउँ नभएको भन्दै संविधान विरोधी गतिबिधिहरुको खण्डन गरेका छन् । केही सांसदले सीमा बाहिर गएर राजतन्त्र मागिरहेको भन्दै उनीहरुले त्यसलाई संसदीय दस्तावेजबाट हटाउनुपर्नेमा जोड दिएका छन् । आठ जना नागरिक अगुवाहरुले विज्ञप्ति निकालेर पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरुले पुनः राजसंस्था पुनर्स्थापनाकाे पक्षमा गरिरहेको गतिविधिको भत्र्सर्ना पनि गरेका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘संविधान संशोधन हुनसक्छ, तर त्यसका लागि प्रक्रियामार्फत् संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने हुन्छ र पारित हुन संदनको दुई–तिहाइ मत चाहिन्छ । एकाध सांसदलाई लाग्दैमा संविधानविरुद्धको राजतन्त्र माग गर्ने स्थान होइन, संसद । सीमा बाहिर गएर उठाइएको अनर्गल विषय संसदीय दस्तावेजबाट हटाइनुपर्छ ।’

भारतले नेपालमा गरेको नाकाबन्दी बिर्सिएर ज्ञानेन्द्र शाहले व्यक्तिगत स्वार्थका लागि पुनः राजगद्दीमा फर्किन भारत सरकारसँगै पहल गरिरहेका उनीहरुको ठहर छ । छिमेक सम्बन्ध तथा बाह्य अन्तर्राष्ट्रिय मामिला पेचिलो बन्दै गएको बेला ज्ञानेन्द्र शाह र उनका समर्थकको गतिविधिले नेपालको भूराजनीति थप कमजोर बन्ने नागरिक अगुवाहरुको चिन्ता छ ।

‘भारतीय हिन्दुत्ववादी कट्टरपन्थीको आडमा नेपालमा राजतन्त्र फर्काउन खोज्दा नेपालको अखण्डतामा गम्भीर घात पर्छ भन्ने हाम्रो बुझाइ हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘इतिहास हेर्दा पृथ्वीनारायण शाहले उत्तर दक्षिणका साम्राज्यसँग सतर्क रही नेपालको सार्वभौमिकता बचाउँदै मुलुक ठड्याएका हुन्, जुन आज विश्वकै पुरानो राष्ट्र/राज्यमध्ये पर्दछ । बिडम्बना, उनकै १०औं पुस्ताका ज्ञानेन्द्र व्यक्तिगत स्वार्थका लागि विदेशी पुरातनपन्थीको शरण र आडमा १० वर्षको संविधानलाई लत्याउन खोजिरहेछन् ।’

नेपालको संविधान संघीय, लोकतान्त्रिक र धर्मनिरपेक्षताको आधारमा निर्मित दस्तावेज भएको भन्दै उनीहरुले त्यसलाई कमजोर बनाउने कुनै पनि प्रयासले देशलाई अस्थिरतातर्फ धकेल्ने उनीहरुको भनाइ छ । विज्ञप्तिमा मोहना अन्सारी, राजन कुइँकेल, कनकमणि दीक्षित, दिनेश त्रिपाठी, रीता परियार, सुशील प्याकुरेल, चिरञ्जीवी प्रसाईँ र हिरा विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया