आर्सनल र इन्टरमिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा
बैशाख ४, २०८२ बिहिबार
धनुषा – प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर नागरिकलाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
मधेश प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अन्य अधिकारको कुनै अर्थ नहुने बताउँदै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गर्नुभयो ।
‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ठूलो उपलब्धि हो । यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका रूपमा मात्र होइन नागरिकको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रूपमा लिनुपर्छ । त्यस कारण हाम्रा प्रयासहरू नागरिकको सेवामा समर्पित हुनुपर्छ । परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘नागरिकले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ । त्यस कारण हामीले नागरिकलाई लोकतान्त्रिक अधिकार उपयोग गर्न दिनुपर्छ । सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ । त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ ।’
प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गर्दै यहाँका अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
संविधानले मधेश प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सही उपयोग गर्नु सबैको दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घ, प्रदेश र पालिकाबीचको समन्वय, नीति निर्माण र विकासका कार्यहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताउनुभयो ।
प्रधानमन्त्रीले मधेश प्रदेश सम्भावना नै सम्भावनाहरूको उर्बर भूमि, कृषिका लागि उपयुक्त चुरे क्षेत्र, जडीबुटी, जङ्गलदेखि पानीको अपार स्रोतयुक्त भएकाले यहाँको विकासलाई सबैको सहयोगमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुनकोशी मरिन डाइभर्सन आयोजनाले मधेशमा सिँचाइ भई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यसले पहाड र तराईबीचको एकताभाव सिर्जना गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, हुलाकी सडक, द्रूतमार्ग, रामराजाप्रसाद सिंह अस्पताल मधेशको विकास र समृद्धिको आधार भएकाले एकीकृत जाँच चौकी तथा प्रमुख भन्सार नाका वीरगञ्जलाई आर्थिक केन्द्र तथा प्राचीन शहर जनकपुरधामलाई सांस्कृतिक पर्यटनको आधारका रूपमा विकास गर्न सकिने उल्लेख गर्नुभयाे ।
उहाँले राजर्षि जनक, माता सीता, महर्षि परशुराम, महाकवि विद्यापतिजस्ता विभूति र विद्वान एवम् छिन्नमस्ता, गढीमाईलगायत देवदेवीहरूको भूमि मधेश प्रदेशमा ती पुर्खाका ज्ञान र गौरवलाई स्मरण गर्दै अब विकासको पथमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।