आमा

 वैशाख १४, २०८२ आइतबार १०:४१:५८ | लक्ष्मी तिवारी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

म धादिङ जिल्लाको मैदी हाल ज्वालामुखी गाउँपालिकामा जन्मिएको मान्छे । स्वास्थ्य सेवाको पहुँच मजबुत नभइसकेको ग्रामीण परिवेश अनि आजभन्दा ३ दशकअघिको समय मेरो जन्म । म जन्मिएको प्रसव पीडालाई चटक्कै भुलेर मेरो अनुहार हेरेर मेरो जन्म दिने आमा मुस्कुराउनु भएछ । तर त्यो खुशी धेरै लामो समयसम्म टिक्न सकेन ।

उहाँको बच्चा त जन्मिएको थियो, तर साल भने झरेको थिएन। स्वास्थ्य सम्बन्धी केही जान्ने व्यक्तिको खोजी भएछ । गाउँकै एकजनाले हात हालेर साल निकाल्ने क्रममा भित्री अङ्गमा असर पर्नुका साथै अत्यधिक रक्तश्रावका कारण कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा भनेझै भयो। लगातार मभन्दा माथिका दुई सन्तान एक छोरा र एक छोरी मृत जन्माएकी मेरी आमाको म मात्र जिउँदो जन्मिएको सन्तान थिएँ। 

‘मैले पनि जिउँदो सन्तानलाई जन्म दिएँ’ भन्ने वाक्य पूरा बोल्न पनि नपाउँदै उहाँले सुत्केरी अवस्थामा रगतले लतपतिएको शरीरमै प्राण त्याग गर्नुभयो। मलाई नौ महिनासम्म आफ्नो रगत सञ्चित गर्दै कठोर एवम् भयावह प्रसव पीडा सहेर यो संसार देखाउने धर्ती टेकाउने सुत्केरीआमा । देवकीले पनि त कृष्ण भगवानलाई जन्म मात्र दिएकी थिइन्।

टाउकोमा टेकाएर लाड प्यारले पुलपुल्याएर त यशोदा मैयाले नै हुर्काएकी थिइन्। मेरो भाग्य हो कि पुर्पुरो बलियो भनौँ मलाई हुर्काउने आमा र जन्माउने आमा सहोदर दिदीबहिनीका छोरीहरुको एकै घरका दाजुभाइसँग विवाह भएको संयोगले मलाई टुहुरो एवम् आमाविहीन हुन दिएन ।

जन्मदिने आमाले आफ्नो सन्तान यसै पनि हुर्काउँछन्। तर मलाई जन्म नदिइकन पनि जन्म दिएकै जसरी हुर्काउने त्यो पनि जम्मा तीन दिनको बच्चालाई, विशाल हृदय ममताकी खानी मेरी आमा योगमाया तिवारी । पूर्व जन्ममा पक्कै मैले केही राम्रो कर्म गरेको रहेछु।

आजसम्म मेरो आमाको घटना सुनाउँदा कसैले मलाई उपन्यास वा कथा सुनाए जस्तो लाग्ने र आमाकै साथ र काख अनवरत वात्सल्य अनि मलाई आजसम्म नामले नपुकार्ने मात्र नानी भन्ने आमा मेरी यशोदा मैया अनि म उहाँको लागि उही चुलबुले चञ्चले आमालाई धेरै माया गर्ने सबै स्वभाव उहाँकै पालनपोषण उहाँकै संस्कारको उपज।

आज म जे छु सबै उहाँकै कारण छु। उहाँ भन्नुहुन्छ, 'मेरी बहिनी यस संसारको दुःख भोग्न नलेखेकी भाग्यमानी देवता जस्तै थिइ। देवताकै प्यारो भई हामी तिथिमा सम्झौला ।' जो हाम्रो परिवारलाई शुरूदेखि चिन्नुहुन्थ्यो ती व्यक्तिहरू आमालाई सधैँ भन्नुहुन्छ, 'तीन दिनदेखिको नानी यति ठूलो बनाउनुभयो तपाईंले अब कुनै सप्ताह तीर्थ कहीँ गर्नु पर्दैन तपाईंको सात जन्म सफल भयो।' तर आमा इशारा गर्नुहुन्छ, 'मेरो नानीको अगाडि कृपया यस्ता कुरा नभनिदिनुस्।' 

उहाँलाई प्रशंसा चाहिएको छैन, छ त केवल मसँग जोडिएको मन सधैँ नै जोडिरहोस् मेरो मनमा दुःखको भुइँचालो कही कतै पनि ठोकिन नपाओस्। उहाँ सधैँ सचेत रहनुहुन्छ यो कुरामा।

त्यसैले जब म आफै दुई सन्तानको आमा भए अनि महसूस गर्न सक्छु। साँच्चै मलाई मेरै लागि यति धार्मिक दयालु संस्कारी आमा भगवानले पठाइदिनु भएकोमा मेरो भगवान, बा, आमा आज म जे छु मेरो आमाकै देन हो। म जस्ता आमाको छहारी छुटेका, दैवले शिशु अवस्थामै लुटेका हरेक सन्तानले आमाको वात्सल्य र माया पाउन् । सबैमा मातातीर्थ औँसीको शुभकामना।

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

लक्ष्मी तिवारी

लालबन्दी-८, सर्लाही 

तपाईको प्रतिक्रिया