‘रोनाल्डो त्यसै शिखरमा पुगेका होइनन्’

 असार २, २०७५ शनिबार ९:४९:४९ | एजेन्सी

फुटबल पण्डित रियो फर्डिनान्डले आफ्ना पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् ।

सन् २००३ देखि २००९ सम्म म्यानचेस्टर युनाइटेडबाट रोनाल्डोसँगै खेलेका फर्डिनान्डले रोनाल्डोको प्रशंसामा आफ्ना शब्द खर्चेका छन् । 

वर्ल्ड क्लास प्रोफेसनल खेलाडी भन्न रोनाल्डोले आफूलाई कतिसम्म समर्पित गरेका थिए भन्ने कुरा फर्डिनान्डले खुलासा गरेका छन् । ‘मैले देखेकामध्ये रोनाल्डो पहिलो खेलाडी हुन् जसले निजी न्युट्रिसनिस्ट, डाक्टर, फिजियो तथा सेफ राखेका थिए’, फर्डिनान्ड भन्छन् । ‘उनीहरु रोनाल्डोको घरमा आइरहन्थे । रोनाल्डो मभन्दा केही पर मात्रै बस्थे ।’ रोनाल्डोको घरमा कुनै उत्सव नै चलिरहेको जस्तो देखिने पनि फर्डिनान्डले बताएका छन् । 

फर्डिनान्ड भन्छन्, ‘रोनाल्डोले आफूलाई विश्वकै उत्कृष्ट बनाउन ठूलो लगानी गरेका छन् । म्यानचेस्टर युनाइटेड छोड्दा पनि उनी उत्कृष्ट लयमै रहेका थिए ।’
९ वर्षअघि म्यानचेस्टर युनाइटेड छोडेका रोनाल्डोले पाँच पटक बलोन डि ओर अवार्ड जितेका छन् । शुक्रबार रातिको खेलमा स्पेनविरुद्ध रोनाल्डोले ह्याट्रिक नै गरे । उनले खेल सुरु भएको चौथो मिनेटमै पेनाल्टीमाफर्त पहिलो गोल गरेका थिए । 

योसँगै रोनाल्डोले आफूले खेलेका चार वटै विश्वकपमा गोल गरेका छन् । उनी चार वटा विश्वकपमा गोल गर्ने सीमित खेलाडीको सूचीमा सामेल भएका छन् । यसअघि पेले, मिरोस्लाभ क्लोस, उवे सीलरले मात्रै चार वटा विश्वकपमा गोल गरेका छन् । विश्वकपमा पेलेले १२, सीलरले १४ र क्लोसले १६ गोल गरेका छन् । रोनाल्डोले भने यसअघि २००६, २०१० र २०१४ को विश्वकपमा एक–एक गोल मात्रै गरेका छन् । 

रोनाल्डोले क्लब र कन्ट्री करिअरमा गरी आफ्नो ह्याट्रिक संख्या ५१ पुर्‍याएका छन् । विश्वकपको इतिहासमा पनि उनको ह्याट्रिक ५१ औँ ह्याट्रिकको रुपमा दर्ता भएको छ । शुक्रबारको खेलमा रोनाल्डो प्रहार गरेका ४ प्रहारमध्ये ३ वटा प्रहार गोलमा परिणत भए ।

क्रिस्टियानो रोनाल्डोमा रहेको मानसिकताका कारण नै उनी सफल भएको बताउँदै फर्डिनान्ड भन्छन्, ‘मानसिकता नै रोनाल्डोको मुख्य हतियार हो । १०–१२ वर्षसम्म आफ्नो लयलाई कायम राख्नु, पाँच पटक बलोन डि ओर अवार्ड जित्नु यो सबै त्यसैको देन हो ।’

फर्डिनान्ड भन्छन्, ‘यसका लागि तपाईमा सशक्त मानसिकताको आवश्यक पर्दछ । तपाईँमा डिटरमिनेसन चाहिन्छ । त्यसैले त उनलाई अलग बनाएको छ । त्यसैले त उनलाई विशेष बनाएको छ ।’ 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया