‘अन्डरडग’ आइसल्याण्डका सामु मेस्सीलाई रोक्ने चुनौती

 असार २, २०७५ शनिबार ११:२०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपको ब्राजिल संस्करणमा उपविजेता बनेको अर्जेन्टिनालाई रुस विश्वकपमा स्थान बनाउन ठूलो संघर्ष गर्नु पर्‍यो । ब्राजिलले चिलीलाई हराएपछि अन्तिम खेलमा इक्वेडरमाथि हात पारेको ३–१ को जितपश्चात अर्जेन्टिना तेस्रो स्थानमा रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो ।

विश्वकपको चारबाहेक सबै संस्करणमा सहभागिता जनाएको अर्जेन्टिनाले दुई पटक विश्वकपको उपाधि उचालेको थियो भने तीन संस्करणमा उपविजेतामा सिमित बनेको थियो । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो भने सन् १९३०, १९९० र २०१४ को विश्वकपमा उपविजेतामा चित्त बुझाएको थियो । 

ब्राजिलमा उपविजेतामा चित्त बुझाउन बाध्य भएको अर्जेन्टिनाले विश्वकपको नवप्रवेशी टिम आइसल्याण्डविरुद्धको खेलबाट रुस विश्वकपको आरम्भ गर्दैछ । मस्कोस्थित ओस्क्रिटिय स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने सात बजे सुरु हुनेछ ।

विश्व फुटबलमा अण्डरडग रहेको आइसल्याण्ड युरोपियन च्याम्पियनसिपमा विश्व एरेनामा प्रभावशाली प्रदर्शनमार्फत उदय भयो । सन् २०१६ को युरोकपमा तहल्का मच्चाएको आइसल्याण्डले पहिलो पटक विश्वकप खेल्दैछ । छनोट चरणमा समूहको विजेता बन्दै उसले रुसको यात्रा तय गरेको थियो ।

विश्वकपमा सहभागी सबैभन्दा सानो देश आइसल्याण्डका लागि लियोनल मेस्सीलाई रोक्नु सबैभन्दा ठूलो चुनौती हुनेछ । प्रशिक्षक हेमिर हल्लाग्रिमसनले पारम्पारिक ४–४–२ को फर्मेसनमा टिम उतार्दै आएका छन् र यो फर्मेसन सफल पनि हुँदै आएको छ । यसको काउन्टर एट्याकिङ अर्जेन्टिनाको कमजोर डिफेन्सका लागि ठूलो चुनौती हुनेछ ।

प्लेयर्स टू वाच

लियोनल मेस्सी – अर्जेन्टिना

अघिल्लो संस्करणमा उपविजेतामा सिमित भएपछि लियोनल मेस्सीमा विश्वकपको ठूलो भोक छ । उनलाई सर्जियो एग्युरो, पाउलो डिबाला, गोञ्जालो हिग्वेन र एन्जेल डि मारियाले साथ दिनेछन् । ३० वर्षे मेस्सीले अर्जेन्टिनाका लागि १२४ खेलमा ६४ गोल गरेका छन्, जुन अर्जेन्टिनाका लागि कीर्तिमानी गोल संख्या हो ।

पछिल्लो चार वर्षमा तीनवटा फाइनल खेलेका लियोनल मेस्सीको टिम अर्जेन्टिना तीनै पटक पराजित हुन पुग्यो । विश्वका सर्वोत्कृष्ट खेलाडी हुँदै गर्दा पनि आफ्नो देशलाई एउटा पनि उपाधि दिलाउन नसकेका मेस्सीको प्रदर्शन उल्लेख्य हुने आंकलन गर्न सकिन्छ ।

गेल्फी सेगुर्डसन - अाइसल्याण्ड

जितको उत्सव मनाउनका लागि अन्य खेलाडीहरु कुनै पव वा रेस्टुरेन्टमा जाँदै गर्दा गेल्फी सेगुर्डसन आइसक्रिम पार्लर जान्थे । सादा जीवनमा विश्वास गर्ने यी मिडफिल्डरको सिर्जनात्मक फुटबल शैलीमा आइसल्याण्ड भर पर्दै आएको छ ।

इंग्लिस क्लब एभर्टनबाट प्रिमियर लिग खेल्दै आएका सेगुर्डसन पछिल्लो ६ वर्षयता आइसल्याण्डका महत्वपूर्ण खेलाडी रहँदै आएका छन् । उनले आइसल्याण्डका लागि ५७ खेलमा १९ गोल गरिसकेका छन् । उनको आक्रमण शैली, सेटपिस र ‘ओपन प्ले’ खेल्ने क्षमताका कारण आइसल्याण्डको शक्ति आकाशिएको हो । तर रसिया आउँदै गर्दा सेगुर्डसन इन्ज्युरीको मारमा परेका छन् । उनी अर्जेन्टाइन डिफेन्डर जेभियर मास्चेरानोलाई समस्या दिन सक्नेछन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया