अझै केही दिन धमिलो वर्षाको सम्भावना, यस्तो पानी उपयोग नगर्न सल्लाह

 असार ३, २०७५ आइतबार ८:४३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आकाशबाट अझै केही दिन धमिलो पानी पर्ने मौसमविदले बताएका छन् । भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धुलो आँधीका कणहरू नेपाली वायुमण्डलमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायुको प्रभावका कारण धुलो उच्च वायुमण्डलमा प्रवेश गरेकाले मध्यपहाडी भेग र दक्षिणतिरका भू–भागमा धमिलो वर्षा भएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

उच्च वायुमण्डलमा धुलोका कण अझै पनि रहेकाले एक÷दुई दिन यस्तै वर्षा हुन सक्न मौसमविद् अर्यालको भनाइ छ । “धुलोको कण हट्न वर्षा भएर सफा गर्नुपर्ने हुन्छ । यसमा हावाको गति पनि पश्चिमबाट पूर्वतर्फ रहेकाले पूर्वी वायुलाई कमजोर तुल्याएको हुँदा पूर्णरुपमा हट्न केही दिन समय लाग्ने देखिन्छ,” उहाँले भन्नुभयो ।

मौसमविद्को भाषामा ‘डस्ट स्ट्रोम’ भनिने धमिलो वर्षा भारतको राजस्थान, दिल्ली हुँदै नेपाल प्रवेश गरेको सम्भवतः यो पहिलो घटना हो । धमिलो वर्षाले सामान्य अवस्थामा भन्दा स्वास्थ्यमा समेत असर गर्ने देखिएकाले सजक रहन पनि विज्ञले सुझाएका छन् ।

काठमाडौं सहित कतिपय ठाउँमा आकासे पानी संकलन गरी विभिन्न प्रयोजनमा उपयोग गरिने गरिएको छ । मौसमविद् अर्यालले यदि घरेलु उपयोगका लागि पानी संकलन गरीएको भए एक/दुई दिनको पानी संकलन नगर्न र कुनै पनि प्रयोजनका लागि उपयोग नगर्न आग्रह गर्नुभयो ।

धमिलो वर्षामा रसायनिक तत्वको समिश्रण हुनसक्ने खतरा रहेकाले त्यस्तो पानी उपयोग नगर्न उहाँको सुझाव छ ।

यस्तै डाक्टरहरुले पनि यस्तो पानी उपयोग नगर्न सुझाव दिएका छन् । अत्यधिक फोहोर र धुलो भएका कारण आकाशबाट परेको पानीले स्वास्थ्यमा असर गर्ने भएकाले प्रयोग नगर्न डाक्टरले सुझाव दिएका हुन् । पानीमा विभिन्न रोगका किटाणु समेत हुनसक्ने टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । यस्तो पानी प्रयोग गर्दा शरीरमा एलर्जी हुने र झाडापखाला लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया