गरे के हुन्न र ? बन्दै हुन लागेको विद्यालयलाई गाउँले बनाए जिल्लाकै नमुना

 पुस २१, २०७५ शनिबार १३:५७:२५ | प्रेमनारायण आचार्य

अर्घाखाँची – सन्धिखर्क नगरपालिका–८, नेपालीचौरमा रहेको जनता आधारभूत विद्यालय विद्यार्थीको अभावमा पटक–पटक मर्जिङको सूचीमा पर्‍यो । 

कक्षा एकदेखि ३ सम्म पढाइ हुने विद्यालय दुई वर्षअघि जम्मा ७ जना विद्यार्थीमा सीमित रहयो । आफूहरुले २०४० सालमा घरबाट आँटो, पिठो उठाएर सञ्चालन गरेको विद्यालय विद्यार्थी अभावले बन्द हुने निस्चित भएपछि स्थानीयहरु जागरुक बने । उनीहरुले विद्यालयमा विद्यार्थी नआउनुको कारण। पढाइको गुणस्तर नहुनु र सबैले नजिकै रहेका बोर्डिङमा बालबालिका पठाउँदा विद्यालयको हालत नाजुक रहेको निष्कर्ष निकाले । 

स्थानीय समाजसेवी, गाँउका भद्रभलादमी र सबै अभिभावक तथा गाँउलेहरु जम्मा भए । कसरी विद्यालयलाइ नमुना बनाउने भनेर लागिपरे । अन्त्यमा सबैले अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्ने र गाँउमा रहेका सबै बालबालिका यसै विद्यालयमा पढाउने, पढाइको गुणस्तर र विद्यालयको भौतिक संरचना निर्माण गर्न सबै गाँउले लाग्ने र विद्यालयलाई नमुना बनाउने अठोट गरे । 

गाँउलेको अठोट कुरामा मात्र हैन अहिले व्यवहारमा पनि परिणत भएको छ । सबै गाँउका विद्यार्थी अहिले यसै विद्यालयमा अध्यन गर्दछन् । दुई वर्षअघि ७ जना मात्र विद्यार्थी रहेको विद्यालयमा अहिले ७२ जना बालबालिकाले अध्ययन गर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै मिलेर गाँउको स्कुल नमुना बनाउन लागेका छौँ । सबै मिलेपछि सकिँदो रहेछ ।’ उहाँले भन्नुभयो, ‘अंग्रेजी माध्यमबाट पढाएका छौँ । सन्धिखर्कका निजी विद्यालयको भन्दा हाम्रो विद्यालयको पढाइमा कुनै कमी छैन । अहिले त अभिभावकहरु पनि खुशी छन् ।’ 

अहिले गाँउका कुनै पनि विद्यार्थी अहिले निजी स्कुलमा जाँदैनन् । अभिभावकहरुले आफ्नै गाँउकै विद्यालयलाई बोर्डिङभन्दा राम्रो बनाउन लागिपरेका छन । हरियाली वातावरणमा रहेको विद्यालयलाई नमुना बनाउन गाउँलेहरु पनि सक्रिय भएका छन् । समय–समयमा विद्यालय हाता सफा गर्ने, लिपपोत गर्ने, रंगरोगन गर्ने सबै काम अभिभावकहरुले नै गर्छन् । 

‘हाम्रो विद्यार्थीले पढ्ने विद्यालय हाम्रो हो भन्ने मनन गाँउलेले गरेपछि विद्यालयमा विद्यार्थी संख्या मात्र होइन पढाइको गुणस्तर पनि जिल्लामा नाम चलेका विद्यालयको भन्दा कम छैन’, विद्यालयका शिक्षक केशव पोख्रेलले बताउनुभयो । अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्न आर्थिक समस्या हुने भएपछि विद्यार्थी र अभिभावकहरु तिहारमा भैलो खेलेर मात्रै तीन लाख रकम संकलन गरेका छन् । 

अहिले यो विद्यालय जिल्लाकै नमुना विद्यालय बनेको छ । ठाँउठाँउमा विद्यार्थी अभावले सामुदायिक विद्यालय बन्द भएको समयमा यो विद्यालय नमुना बनेको छ । 


 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया