चारवटा प्रदेशमा नामभन्दा राजधानी टुंग्याउन सकस

 माघ ४, २०७५ शुक्रबार ११:३६:४९ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – प्रदेश सरकार गठन भएको पनि वर्ष दिन हुन लाग्यो । तर अझै पनि चारवटा प्रदेशले नाम र राजधानीको टुंगो लगाउन सकेका छैनन् । प्रदेश १, २, ३ र ५ ले नाम र स्थायी राजधानी तोक्न नसकेका हुन् । 

प्रदेश ४, ६ र ७ ले भने यसअघि नै नाम सहित स्थायी राजधानी तोकिसकेका छन् । ४ नम्बर प्रदेशले नाम गण्डकी र स्थायी राजधानी पोखरा, ६ ले कर्णाली र राजधानी सुर्खेत तथा ७ ले सुदूरपश्चिम नाम र राजधानी कैलालीको गोदावरी तोकेका हुन् । 

नाम र राजधानी टुंगो लगाइसकेपछि यी प्रदेश अरु काममा लागेका छन् । तर बाँकी चारवटा प्रदेश चाहिँ नाम र राजधानीकै बहसमा अल्झिएका छन् ।

प्रदेश १

प्रदेश १ मा अस्थायी मुकाम विराटनगरबाटै प्रदेश सरकारका काम हुने गरेका छन् । १ मा विराटनगर, इटहरी र धनकुटा स्थायी राजधानीमा रुपमा चर्चामा छन् । किराँत सगरमाथा, सगरमाथा, कोशी जस्ता नाममा छलफल चलेको छ । 

प्रदेश १ ले यसअघि असार मसान्तभित्र नाम र राजधानी तोकिसक्ने भने पनि त्यसको ६ लम्बिसक्दा समेत प्रदेश सभामा अझै पनि नाम र राजधानीबारे छलफल भएको छैन । प्रदेश १ को अधिवेशन माघ २० गते देखि सुरु हुनेछ । तर नाम र राजधानी भने चैतसम्ममा टुङगो लगाउने योजना छ । 

मुख्यमन्त्री शेरधन राईले चैत मसान्तसम्म प्रदेशको नाम र राजधानीको विषय तय भैसक्ने बताउनुभएको छ । नाम र राजधानीको विषय सकेसम्म सहमतिबाट नै तोक्ने भनेर दलहरुबीचमा उच्चस्तरमै निर्णय भएको भन्दै उहाँले त्यही आधारमा टुङग्याउन लागिपरेको बताउनुभयो । 

प्रदेश २

प्रदेश २ मा नाम र राजधानीको बहस जटिल बन्दै गएको छ । राजधानी जनकपुर र बीरगंज अनि नाम मिथिला, मधेस प्रदेश, मिथिला भोजपुराको विषयमा बहस भैरहेको छ । 

‘राजधानी र नाम तोक्ने विषय स्वभाविक रुपमै जटिल छ’ प्रदेश २ का वन तथा पर्यटन राज्यमन्त्री सुरेश यादवले भन्नुभयो, ‘एउटा अध्ययन आयोग बनाएर काम भैरहेको छ । आयोगले काम अन्तिम चरणमा पुर्याएको छ, हरेक जिल्लाबाट राय सुझाव पनि संकलन भएका छन् । अब विपक्षीसँग पनि छलफल गरी माघ दोस्रो हप्तादेखि चल्ने हिउँदे अधिवेशनमा पेश गर्ने तयारी छ ।’ 

उहाँले प्रदेश दुईको नाम र स्थायी राजधानी लगभग टुँगिने बेला आएको समेत दावी गर्नुभयो । 

प्रदेश ३

प्रदेश ३ मा पनि स्थायी राजधानी तोक्ने विषयमा नेकपा भित्रै मतभेद छ । प्रदेश ३ को राजधानीमा अहिले स्थायी मुकाम रहेको ठाउँ हेटौंडा बाहेक काभ्रेको बनेपा र भक्तपुर बढी चर्चामा छन् । नाम पनि नेवा–ताम्सालिङ र बागमतीमा मतभेद नै छ । 

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले नाम र राजधानी तोक्दा दीर्घकालीन प्रभाव पर्ने भएकाले राजनीतिक सहमतिबाटै तोकिने बताउनुभएको छ । दलगत र व्यक्तिगत स्वार्थमा अहिले हतारमा तोक्ने पछि पछुतो हुने अवस्था आउन नदिने गरी सहमति खोजीने उहाँले बताउनुभयो । 

प्रदेश ५

प्रदेश ५ मा को नाम लुम्बिनी र बुद्धभूमीबारे बहस छ । राजधानीमा बुटवल र दाङमा विवाद छ । स्थायी राजधानी बुटवल नै बनाउने या दाङ तोक्ने विषयमा नेकपाभित्रै निर्णय हुन सकेको छैन । मतभेद र क्षेत्रीय राजनीतिको रुपमा राजधानी जोडिएपछि निर्णय हुन नसकेको हो । 

‘केहीले दाङ र कसैले बुटवल हुनुपर्छ भन्दै गर्दा मतदान गर्ने हो भने कतै पनि दुई तिहाइ नपुग्ने चिन्ता छ’ नाम र राजधानी तोक्न गठन भएको समितिका सदस्य रमा अर्यालले भन्नुभयो । उहाँले नाम र राजधानी तत्काल टुंगो लाग्न गाह्रो रहेको पनि बताउनुभयो । ‘कतिपय माननीयले बुटवल ठिकै त छ भन्नुभएको छ, अनि कतिपय अस्तित्वसँग जोड्दै पश्चिम (दाङ) लैजानैपर्छ भन्नेमा हुनुहुन्छ ।’ तर रायसुझाव लिन टोली जिल्ला जिल्ला जाने तयारी भैरहेको पनि उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसले राजधानी नसार्न दबाब दिएको छ । ५ नम्बर प्रदेशको स्थायी राजधानी नै बुटवल हुनुपर्ने कांग्रेसको माग छ । प्रदेश पाँचको नाम लम्बिनी राख्न उपयुक्त हुने कांग्रेसको अडान छ । 

नाम र राजधानी तोक्न किन अलमल ?

प्रदेशको नामाकरणमा खासै विवाद नभए पनि राजधानीमा भने नेताहरुको आ–आफ्नै स्वार्थ देखिने गरेको छ । सत्तापक्ष भित्रकै र विपक्षी दलका सांसद समेत विभाजित हुँदा निर्णय गर्न भएको हो । 

प्रदेशको राजधानी र नाम तोक्ने अधिकार प्रदेश सभाकै हो । संविधानमा प्रदेशसभाको दुई तिहाइ बहुमतबाट निर्णय गरेर प्रदेश राजधानी र नाम तोक्न सक्ने व्यवस्था छ । यसैअनुसार तीन वटा प्रदेशले नाम र स्थायी राजधानी तय गरिसकेका छन् । संविधानको धारा २८८ मा भएको व्यवस्था अनुसार प्रदेशको नाम र स्थायी राजधानी सम्वन्धित प्रदेशसभाले निर्णय गरे बमोजिम हुने व्यवस्था छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया