हिमपातले म्याग्दीका बस्तीहरु सेताम्मे (फोटोफिचर)

 माघ १२, २०७५ शनिबार १९:३२:२२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीमा शुक्रबार साँझदेखि परेको वर्षाका कारण भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रसहित तल्लो क्षेत्रका अधिकांश ठाउँहरुमा हिउँ परेको हो । 

समुन्द्री सतहदेखि १ हजार ५ सय मिटरको उचाइमा रहेका कस्तीहरुसम्मै हिउँ परेको छ । हिमपातपछि अहिले म्याग्दीका डाँडाकाँडाहरु सेताम्मे देखिएका छन् । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकाका ७ ओटै वडामा बाक्लो हिमपात भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । 

यसैगरी बेनी नगरपालिकाको १, २, ३, ५, ९ र १० नम्बर वडाका बस्तीहरुमा हिमपात भएको छ । मालिका गाउँपालिकाको पनि सातवटै वडाका बस्तीहरुमा हिमपात भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका बस्तीहरुमा पनि भारी हिमपात भएको छ । अधिकांश गाउँको घर, आँगन र छानाहरु ढाकिने गरी हिमपात भएको छ । 

लेकाली बस्तीहरुको घर आँगनको कुना कुनासम्म हिउँ जमेको छ । बिहान उठ्नेबित्तिकै घरको आँगनमै सेताम्मे हिउँ देखेपछि आफूहरु हिउँ खेलेर रमाएको बेनी नगरपालिका–५, डडुवाका अर्जुन भण्डारीले टेलिफोनमा जानकारी दिनुभयो । 

लामो समयपछि जिल्लाको मध्य बस्तीमा हिउँ परेपछि स्थानीयबासिन्दा खुशी भएका छन् । म्याग्दीको उच्च भेगहरुमा २ फिटभन्दा माथिसम्म हिमपात भएको छ भने तल्लो बस्तीका अधिकांश ठाउँहरुमा झण्डै आधा फिटसम्म हिउँ जमेको आँकलन गरिएको छ । 

गाउँबस्ती नै छोपिने गरीको परेको हिमपातका कारणले गर्दा वस्ती बनौठो देखिएको छ ।

जिल्लाको पर्यटकीय क्षेत्र घोरेपानी, पुनहिल, महरेडाँडा, टोड्के, रुईसे–भेडिओढार, गुफाको डाँडो, भकिम्लीको स्वर्गाश्रम, बराङ्जाको झाँक्रीपानी लगायतका क्षेत्रहरु अहिले सेताम्य हिउँको ढिस्कोमा रुपान्तरण भएका छन् । पर्यटकीय क्षेत्रमा पुगेका आन्तरिक तथा बाहय पर्यटकहरु हिउँ खेलेर रमाइरहेका छन् । 

हिमपातका कारण स्थानीयवासिन्दालाई भने घरको दैनिक काम गर्न समस्या भएको छ । हिमपातपछि चिसो बढेको हुँदा स्थानीयलाई घर बाहिर आवतजावत गर्न समस्या भएको बेनपा–५, गाजनेका यामबहादुर बानियाले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया