आफ्नै ठाउँबाट पुनः श्रम स्वीकृति पाउँदा सेवाग्राही खुशी

 माघ २३, २०७५ बुधबार १२:९:५८ | सुमन तिमल्सिना

विराटनगर – विराटनगरबाटै श्रम स्वीकृती पाएपछि सेवाग्राही खुशी भएका छन् । धनकुटाको चौबिसे गाउँपालिका–५ बोधेका विजय खड्कालाई पहिलो श्रम स्वीकृत प्रदान गर्दै विराटनगरबाट श्रम स्वीकृती दिन थालिएको हो । 

एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले विजयलाई कतारको लागि पुन : श्रम स्वीकृत प्रदान गर्नुभएको हो । तीन महिनाको विदामा घर आउनुभएका विजयले विराटनगरबाटै श्रम स्वीकृती पाएपछि खुशी लागेको बताउनुभयो । 

‘पहिलो पटक आफ्नै गाउँबाट श्रम स्वीकृती पाउँदा खुसी लागेको छ, काठमाण्डौमा ३ दिनसम्म धाउनु पर्ने बाध्यता सकियो,’ उहाँले भन्नुभयो । 

काठमाण्डौ गएर श्रम स्वीकृत लिन निक्कै समय लाग्ने र झण्झटिलो हुँदा धेरै खर्च लाग्ने भन्दै उहाँले आफ्नै ठाउँबाट श्रम स्वीकृति लिन पाउँदा खर्च र समयको बचत भएको बताउनुभयो । 

उहाँ जस्ता धेरै श्रम स्वीकृतिको लागि विराटनगरमा रहेको श्रम कार्यालयमा आउन थालेका छन् । पहिलो चरणमा नै श्रम स्वकृती प्रदान गर्ने भनिएको विराटनगर श्रम कार्यालयमा विभिन्न कारण देखाउँदै मन्त्रालयले पोखरा र बुटवलबाट मात्र पहिलो चरणमा श्रम स्वीकृती दिन थालेको थियो ।

कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । 

सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले अहिले वैदेशिक रोजगारीमा जानेका लागि प्रदेशबाट आफ्नै ठाउँ र क्षेत्रबाट श्रम स्वीकृती दिन थाल्नु सकारात्मक भएपनि वैदेशिक रोजगारीमा जाने क्रमलाई रोकेर देशमै रोजगारीको अवसर सिर्जना गर्न तर्फ लाग्नु पर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले एक नम्बर प्रदेशले युवा लक्षित कार्यक्रमअन्तर्गत ९ हजार युवालाई रोजगारमूलक तालिम दिने तयारी गरेको पनि जानकारी दिनुभयो । 

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले लामो समयदेखि काठमाण्डौबाट मात्रै दिइँदै  आएको श्रम स्वीकृती विराटनगरबाट पनि सुरु हुँदा सेवाग्राहीलाई सजिलो हुने अपेक्षा राखेको बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत ७, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया