दुबईमा सातौँ विश्व सरकार शिखर सम्मेलन, नेपालबाट मन्त्री पण्डित सहभागी हुने

 माघ २५, २०७५ शुक्रबार ७:१२:३८ | उमाकान्त पाण्डे
unn.prixa.net

फाइल फाेटाे

यूएई – दुबईमा आइतबारबाट सातौँ विश्व सरकार शिखर सम्मेलन सुरु हुने भएको छ । सम्मेलनमा विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिले सहभागिता जनाउने छन् । 

यूएईको खुशी मन्त्रालयको प्रमुख आयोजनामा हरेक वर्ष हुने यो सम्मेलन आइतबारबाट सुरु भएर मंगलबार सकिने छ । 

सम्मेलनमा प्रविधिको भविष्य, शिक्षा, स्वास्थ्य तथा वातावरण, श्रम बजार, ट्रेड एवम राजनीतिसँग सरकार तथा समुदायको सम्बन्धका विषयलाई प्रमुख एजेण्डाका रुपमा सामूहिक छलफल गरिने छ । 

फाइल फोटो

कार्यक्रममा सरकारी कार्यालय चुस्त र पारदर्शी कसरी बनाउने भन्नेबारे पनि छलफल हुनेछ । त्यस्तै सम्मेलनमा विकसित प्रविधिको प्रयोग तथा देशहरुले विभिन्न निकायमा ल्याउनु पर्ने आवश्यक नीति निर्माणका विषयमा समेत छलफल र परामर्श गरिनेछ । 

सम्मेलनको प्रमुख अतिथि तथा वक्ताको रुपमा सन् २०१८ का नोबेल पुरस्कार विजेता, लेबनानका प्रधानमन्त्री साद हरिरी, अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमखु क्रिस्टिन लगार्ड, सीएनएन टेलिभिजनका चर्चित कार्यक्रम प्रस्तोता रिचार्ड क्वेस्टलगायतका व्यक्ति यूएई आउने कार्यक्रम छ । 

त्यस्तै सम्मेलनलाई पाकीस्तानी प्रधानमन्त्री इमरान खान तथा क्याथोलिक क्रिस्चियनका धर्म गुरु पोप फ्रान्सिसले सम्बोधन गर्ने कार्यक्रम छ । गएको वर्ष आयोजित कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख वक्ताको रुपमा हुनुहुन्थ्यो ।  

नेपालबाट मन्त्री पण्डित सहभागी हुने  

यसपटक नेपालका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित सहभागी हुनुहुने भएको छ । कार्यक्रममा सहभागी हुन मन्त्री पण्डित शुक्रबार आबुधाबी आउने कार्यक्रम छ ।  १ सय ५० देशका प्रतिनिधिमध्ये १ सय २० जनाले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । 

मन्त्री पण्डित हित १० सदस्यीय नेपाली प्रतिनिधि टोली यूएई आउने कार्यक्रम छ । मन्त्री पण्डितले शनिबार आबुधाबीमा रहेको नेपाली दूतावासमा यूएईमा कार्यरत नेपाली समुदायलाई सम्बोधन गर्ने  दूतावासले जनाएको छ ।   

सम्मेलनका पछिल्ला दुई वर्ष नेपालका तर्फबाट लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली सहभागी हुनुभएको थियो । सम्मेलनमा मन्त्रीसहित, श्रम सचिव तथा कार्यवाहक राजदूत सागरप्रसाद फुयांलले नेपालको प्रतिनिधित्व गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया