हजुरबुवाबाटै ५ वर्षीया नातिनी बलात्कृत

 फागुन ४, २०७५ शनिबार ८:५७:२३ | प्रेमनारायण आचार्य

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा  शुक्रबार हजुरबुबाबाटै पाँच वर्षीया नातिनी  बलात्कृत भएकी छिन् । 

सन्धिखर्क ११ डिभर्ना अमिले निवासी ६५ वर्षीय एक वृद्धलाई आफ्नै पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो । 

जबरजस्ती करणीको बारेमा आमालाई बालिकाले बताएपछि आमाले प्रहरीलाई जानकारी दिएकी थिइन् । जानकारी पाउनासाथ तत्काल प्रहरी अधिकृतसहितको टोली गई हजुरबुबालाइ पक्राउ गरेको हो । आरोपीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

त्यस्तै बिहीबार अर्घाखाँचीको भूमिकास्थान–१, साम्नेगाउँकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्यूठानको मल्लरानी गाउँपालिका–२ सिउतेका ६८ वर्षीय डण्डबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिका शारीरिक रूपमा कमजोर देखिन थालेपछि उनकी आमाले सोधपुछ गरेपछि घटना सार्वजनिक भएको हो ।

विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिई प्यूठान प्रहरीलाई बुझाएको छ । चाउचाउ खाने पैसा दिएर ललाइफकाई बालिकालाई बलात्कार गरेको पीडितले बताएकी छन् । बालिका गत पुसदेखि नै बृद्धबाट बलात्कारको सिकार हुँदै आएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीमा बलत्कारका घटनाहरु बढिरहेका छन् । आर्थिक वर्ष २०७१–७२ मा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका मुद्धा ५ मात्र रहेका थिए । त्यो संख्या गएको आर्थिक वर्ष अर्थात २०७५–७६ मा १८ पुगेको छ । जसमा जबरजस्ती करणीका १५ र जबरजस्ती करणी उद्योगका ३ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । 

यो वर्ष भने साउनदेखि यता ७ वटा मुद्दा दर्ता भएका छन । जसमा जबरजस्ती करणीका ६ र जबरजस्ती करणी उद्योगको एउटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर घमले बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया