भनेअनुसार वृद्धभत्ता ५ हजार नपुर्‍याउँदा हाम्रा बाआमाहरुलाई पनि नमिठो लाग्या होला : प्रचण्ड

 फागुन १४, २०७५ मंगलबार १८:३१:० | किरण लोहनी
unn.prixa.net

गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षको अवधिमा सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभएको छ । 

सरकारको कामका बारेमा जनगुनासोहरु आउन थालेको भन्दै उहाँले त्यसबारे आफूले प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरिसकेको बताउनुभयो । वृद्धभत्ता बढाएर ५ हजार पुर्‍याउने लगायतका चुनावी घोषणा कार्यान्वयन हुन नसकेको भन्दै प्रचण्डले अर्को वर्षको बजेटमा त्यसको सम्बोधन हुने बताउनुभयो । 

‘दुई तिहाईको बहुमतको सरकार भएका बेलामा नेपाली जनताले जुन गतिका साथ विकास होला, फटाफट काम होला, भ्रष्टहरुमाथि कारबाही होला, सुशासन होला भनेका थिए त्यो हुन सकेको छैन’, प्रचण्डले भन्नुभयो, ‘वृद्धभत्ता ५ हजार पुर्‍याउँछौं भनेर हामीले कस्सिएरै भनेका थियौँ, हाम्रा बाआमाहरुलाई पनि पार्टीले भने अनुसारको काम गरेन भन्ने नमिठो लागेको होला ।’

अब बनाउने बजेटमा यो पटक नसकेका कुराहरु नागरिकले बुझ्ने देख्ने र भोग्ने गरी समावेश गरिने उहाँको भनाइ छ । यस विषयमा प्रधानमन्त्रीसँग पनि पटक–पटक छलफल गरिरहेको उहाँले बताउनुभयो । प्रचण्डले भन्नुभयो, ‘जनताले अब चाहिँ आफ्नै सरकार आयो भन्ने ठान्ने गरी बजेट बनाउने हाम्रो कुरा चलिरहेको छ, यो कुरा प्रधानमन्त्रीलाई पनि थाहा भएको छ अहिले ।’

जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसको सन्दर्भ पारेर गोरखाको तार्कुकोटमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले शहीद परिवार, जनयुद्ध र जनआन्दोलनका घाइते र तिनका आश्रितलाई सरकारले परिचयपत्र दिने बताउनभुयो । शहीद, घाइते र बेपत्ता परिवारलाई प्रमाणपत्र, क्षतिपूर्ति र रोजगारीको ग्यारेन्टी नगरिएसम्म शान्ति प्रक्रिया टुंगोमा पुगेको मान्न नसकिने बताउनुभयो ।

‘शान्ति प्रक्रियाको मूलभूत कुरा त टुंगियो तर धेरै कुरा अझै बाँकी छन्’, उहाँले भन्नुभयो, ‘सत्य निरुपण र बेपत्ता छानबिन आयोगले छिटोछिटो काम गर्न सकेको छैन, काम भएको छ तर असाध्यै कछुवाको गतिमा ।’ ऐन संशोधन र आवश्यक पर्दा आयोगको पुनर्गठन गर्ने गरी काम अघि बढेको प्रचण्डको भनाइ छ । 
एकथरि मान्छे नेपालमा फेरि द्वन्द्व भड्काउन लागिरहेको प्रचण्डको आरोप छ । ‘एकथरि मान्छे नेपालको शान्ति प्रक्रिया नटुंगिएको हुन्थ्यो, द्वन्द्व भड्किए हुन्थ्यो, हामीले चलखेल गर्न पाइन्थ्यो भन्ने सोच्ने मान्छेहरु पनि छन्’, उहाँले भन्नुभयो, ‘तर नेपाली जनताको चेतना र संघीय लोकतान्त्रिक गणतन्त्रको अहिलेको मर्म र भावनाअनुसार ती कुनै कुरा सम्भव छैन, हामी अघि बढिसकेका छौँ ।’ 

जनयुद्ध सकिए पनि देशमा अन्य विभिन्न खाले युद्ध भने जारी रहेको उहाँको भनाइ छ । समृद्धि र समाजवादको युद्धमा लाग्नुपर्ने बेला आफू अहिले राजनीतिक युद्ध नै लडिरहेको प्रचण्डले बताउनुभयो । ‘हतियारको युद्ध छैन, तर राजनीतिक युद्ध चाहिँ त्यो जनयुद्धभन्दा कम छैन’, उहाँले भन्नुभयो, ‘अहिले हामी हतियार लिएर त लड्दैनौँ तर लडाइँको केन्द्रबिन्दु चाहिँ हेडक्वार्टर नै हुने रहेछ ।’ 

जनयुद्धभन्दा अहिलेको राजनीतिक युद्ध झनै जटिल लागेको उहाँले बताउनुभयो । ‘हिजो लडाकूहरुको घेरामा उनीहरुको सुरक्षामा हुन्थेँ, अहिले राज्यको सुरक्षामा छु तर लडाइँ चाहिँ अहिले झन् जटिल र गाह्रो भएको छ’, उहाँले भन्नुभयो, ‘जसरी जनयुद्धमा घेरा तोड्दै बलिदान गर्दै अघि बढिन्थ्यो, अहिले पनि विभिन्न घेरा तोड्दै अघि बढ्नु पर्ने अवस्था छ ।’  

अन्तिम अपडेट: बैशाख ५, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया