कांग्रेसले सरकारसँग साेध्याे : विप्लवको पार्टी आंतकवादी पार्टी हो कि हाे ?

 फागुन १५, २०७५ बुधबार १६:२८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव समूहको पार्टीप्रतिको सरकारको धारणा माग गरेको छ ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले विप्लव समूह राजनीतिक पार्टी हो वा आतंककारी समूह भन्ने सम्बन्धमा धारणा सार्वजनिक गर्न सरकार र सत्तारुढ दलसँग माग गर्नुभएको हो ।

विप्लवका गतिविधिलाई सतही रुपमा आँखा चिम्लिएर हेर्ने हो भने नेपाल ठूलो राजनीतिक द्वन्दमा फस्ने भन्दै उहाँले तत्काल धारणा स्पष्ट पार्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो,  'सरकार र सत्ताधारी पार्टी भएको नाताले नेकपाकाे विप्लव नेतृत्वकाे पार्टीप्रतिको दृष्टिकोण के हो ? विप्लवको पार्टी आंतकवादी पार्टी हो ?'

फागुन १० गते राजधानीको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयसहित देशका २१ स्थानमा एकै समयमा बम विस्फोट गराइएको घटनालाई इंगित गर्दै उहाँले यसलाई सामान्य नलिन ध्यानाकर्षण गराउनुभयो ।

पूर्व गृहमन्त्री जनार्दन शर्माले संक्रमणकालीन न्यायको बारेमा देशको राजनीति तातेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहलले संक्रमणकालीन न्यायको सम्पादन राम्रोसँग नभए यो देशमा अर्को माओवादी जन्मिन सक्छ भनेर उद्घोष गरेको भोलिपल्ट नै यस्तो घटना भएको भन्दै उहाँले यो कस्ताे संयोग हाे भनेर प्रश्न पनि गर्नुभयो ।

तात्कालीन नेता मदन भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई अघि बढाएको स्मरण गर्दै उहाँले अहिलेको नेकपाको नेतृत्व सैद्धान्तिक अन्यौलको भूमरीमा परेकोसमेत दाबी गर्नुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया