रवीन्द्र अधिकारीलाई रवीन्द्र मिश्रकाे पत्र : देश नबनाइकनै जानुभयो !

 फागुन १७, २०७५ शुक्रबार १६:२६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आफ्नाे फेसबुक पेजमार्फत हेलिकप्टर दुर्घटनामा परि निधन भएका रवीन्द्र अधिकारीसँगै खिचिएकाे आफ्नाे पुरानाे फाेटाे पाेस्ट गर्दै विवेकशील साझा पार्टीका स‌ंयाेजक रवीन्द्र मिश्रले भावुक चिठी लेख्नुभएकाे छ । चिठी यस्ताे छ.....

रवीन्द्रजी,

केही दिनदेखि बिसञ्चो भएकोले श्रद्धाञ्जलीका लागि आउन पाइनँ । यो फोटो सन् २०१२ मा मेरो घरमा खिचिएको रहेछ । पूर्व माओवादीका प्रखर वक्ता तथा युवा नेता हेमराज भण्डारी (तस्बिरमा देब्रे) जसले लगभग ३० वर्षकै उमेरमा धनकुटामा पुराना पार्टीका पुराना नेतालाई चुनावमा हराएका थिए।

त्यति बेला तपाईँ, गगनजी, हेमराजजी र म सामूहिक रूपमा कहिलेकाहीँ भेट्थ्यौँ। यो देश हाम्रै पुस्तामा कसरी रूपान्तरण गर्न सकिएला भन्ने हाम्रो छलफलको मूल विषय हुन्थ्यो ।

हामी सबै एकै पुस्तामा यो देश बदल्न सकिन्छ भन्नेमा सहमत थियौँ। तर हामी एक ठाउँमा आउन सकेनौँ । आ-आफ्नै बाटोमा हिँड्यौँ। तपाईँको र मेरो त पछि पनि धेरै पटक भेटघाट भयो, देशकै बारेमा विमर्श गर्न। प्रारब्धले तपाईँलाई चाँडै लिएर गयो।

तपाईँले छोडी जानुभएको पार्टी या अन्य कुनै पार्टीले एकै पुस्तामा यो देश रूपान्तरण गर्‍यो भने त्यो तपाईँका लागि सबैभन्दा ठूलो श्रद्धाञ्जली हुनेछ।

मृत्यु कहिले, कुन बेला, कसरी, कसलाई, कहाँ लिन आउँछ – कसलाई के थाहा। गएपछि सबै खरानी। अमरत्वको पनि जानेलाई कुनै अर्थ हुँदैन। बाँच्नेहरूले त्यसमा अर्थ खोज्ने मात्रै हो।

हामीले बाँचुञ्जेल इमानदारीपूर्वक मानव हुनाको कर्तव्य निर्वाह गर्यौं भने त्यसबाट बितेर गएका तपाईंलगायत सातै जानाको आत्माले चीर शान्ति पाउने छ।

मृत्युपश्चातको जीवन रहेछ भने कुनै दिन भेट हुनसक्छ। देश बनेको समाचार लिएर आउन पायौँ भने फेरी एकपल्ट तपाईँको सरल हाँसोसँगै खुशी बाँडौँला।

तपाईँको हितैषी
रवीन्द्र मिश्र

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया