हत्याका फरार अभियुक्त १३ वर्षपछि पक्राउ

दोस्राे नागरिकता लिएर पनि जोगिएनन् !

 फागुन २३, २०७५ बिहिबार ७:२७:१४ | अमर सुनार
unn.prixa.net

दैलेख – हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गर्न सफल भएको छ । दैलेखको भगवतीमाई गाउँपालिका–६ शनिगाउँका ३८ वर्षीय टोपबहादुर सिंहलाई जिल्ला प्रहरी कार्यालय दैलेखले बुधवार घरबाटै पक्राउ गरेको हो । 

२०६२ कात्तिक १६ गते साविकको कट्टी गाविस–६ सनिगाउँ (अहिलेको भगवतीमाई गाउँपालिका–६) का २१ वर्षीय शेरबहादुर पुनमगरको हत्या गरेको अभियोगमा २०६७ चैत २३ गते दैलेख जिल्ला अदालतले ५ वर्ष जेल सजाय तोकेको थियो । 

फैसला भइसकेको कैद असुली गर्न पर्ने अभियुक्तलाई अदालतमा पेश गर्नुपर्ने नियम अनुसार प्रहरीले बुधबार नै दैलेख जिल्ला अदालतमा बुझाएको थियो । त्यसपछि उनलाई दैलेख कारागारमा राखेको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।  

देउसी भैलो खेल्ने दुई टोलीबीच भएको विवादमा लाठीले प्रहार गर्दा शेरबहादुरको घटनास्थलमा नै ज्यान गएको थियो । घटनामा संलग्न टोपबहादुरसहित ४ जनालाई तत्कालीन जिल्ला न्यायाधीश ठाकुरप्रसाद शर्माको इजलासले सजाय सुनाएको थियो । टोपबहादुर सिंहसहित प्रेमबहादुर सिंह, कर्णबहादुर सिंह र प्रदीप सिंहलाई  ५ वर्ष कैद सजाय तोकिएको थियो । 

हत्या गर्ने योजना नभई गाउँमा भैली खेलिरहेको बेला शेरबहादुर पुनमगर र टोपबहादुर सिंहको टोलीबीच विवाद हुँदा समूहगत झडपका क्रममामा शेरबहादुरको ज्यान गएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो ।

घटना विवरण अनुसार लाठी प्रहारबाट घटनास्थलमै ज्यान गएपछि शेरबहादुरको शव पुरिएको थियो । माओवादी सशस्त्र युद्धको चरम उत्कर्षको बेला भएकोेले ९ दिनपछि कात्तिक २५ गते प्रहरीले घटनास्थल मुचुल्का गरेको थियो । घटना लगतै उनी भागेर भारत गएका र शान्ति प्रक्रियापछि लुकीछिपी घरमा आउने जाने गरेका थिए ।

पक्राउ परेका टोपबहादुर सिंहले ३ वर्ष अघि गाउँमा नागरिकता टोली जाँदा २०४५ कात्तिक १८ गते जन्म मिति जनाएर महेन्द्रबहादुर सिंहको नामबाट नयाँ नागरिकता लिएको खुलेको छ । नयाँ नागरिकता लिए यता परिचय बदलिएको ठानेर अलि बढी सार्वजनिक सहभागिता बढाएका थिए । 

टोपबहादुर सिंहले पछिल्लो पटक नाम बदलेर लिएको नागरिकतामा पनि आफ्नो पिताको नाम देवबहादुर सिंह नै जनाएका छन् । महेन्द्रबहादुर सिंहसमेत दुई छुट्टाछुट्टै नागरिकता लिएका टोपबहादुर सिंह, देवबहादुर सिंहका एक्लो छोरा हुन् । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया