एनआरएन यूएईले पायो सामाजिक संस्थाको मान्यता

 फागुन २६, २०७५ आइतबार १४:२८:१८ | उमाकान्त पाण्डे

यूएई – एनआरएन यूएईले सामाजिक संस्थाको मान्यता पाएको छ । यूएईको कम्युनिटी डेभलपमेन्ट अथोरेटी (सीडीए)मा नेपाल एशोसिएसन नामदर्ता भएपछि आइतबारबाट सामाजिक संस्थाको मान्यता पाएको हो । संस्थाले एक वर्षका लागि प्रमाणपत्र पाएको छ । 

दर्ता भएपछि कानुनी रुपमै संस्थाले सामाजिक, साँस्कृतिक, परोपकारी कामका साथै मनोरञ्जनात्मक र खेलकुदका कार्यक्रम आयोजना गर्न एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठले उज्यालोलाई बताउनुभयो ।

यूएईको सीडीए डिपार्टमेन्टले  संस्थाहरुलाई पटक पटक अबैधानिक रुपमा कुनै गतिबिधी नगर्न र त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिँदै आएको थियो ।यूएईमा सामाजिक संस्था खोल्न न्यूनतम १० जना हुनुपर्ने र त्यसमा पनि दुई जना यूएईका नागरिक हुनुपर्ने व्यवस्था छ । दर्ता भएका संस्थाहरुले राजनीतिक गतिविधि तथा जातीय वा धार्मिक द्वेष फैलाउन पाउने छैनन ।

उनीहरुले यूएई बाहिरका कुनै पनि संस्थासँग सम्वन्ध राख्न, दान र चन्दा लिन, कुनै पनि पैसा उठाउने काम गर्न, श्रव्यदृष्य सामग्रीको प्रयोग गरेर वा सामाजिक सञ्जाल मार्फत रकम उठाउन समेत पाउने छैनन ।

संस्था दर्ता भएपछि डेरा दुबईको आबु बकर अल सिद्दिकी मेट्रो स्टेशन नजिक स्पेडिक्स भवनको १०६ आंै तल्लामा कार्यालय राखिएको प्रवक्ता मनु क्षेत्रीले जानकारी दिनुभयो । 

यसअघि यूएईमा व्यवसाय गर्दै आउनुभएका बागलुङका डाक्टर दिनेश आचार्यको नेतृत्वमा दुई वर्षअघि खोलिएको हामी नेपाली नामक संस्थाले पनि दर्ता भएर बैधनाकिकता पाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया