फिफा अनुशासन समितिले जाका र साकिरीमाथि छानबिन गर्ने

 असार ११, २०७५ सोमबार ११:४९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

स्विट्जरल्यान्ड खेलाडी ग्रानिट जाका र जर्दान साकिरीलाई फिफा अनुशासन समितिले छानबिन गर्ने भएको छ ।

शनिबार भएको खेलमा सर्बियाविरुद्ध गोल गरेपछि खुसीयाली मनाउने क्रममा राजनीतिक झल्को दिने गतिविधि गरेका कारण जाका र साकिरीमाथि अनुसन्धान गर्न लागेको फिफाले जनाएको छ ।

स्विट्जरल्यान्डका लागि गोल गरेका जाका र साकिरीले खुसीयाली मनाउने क्रममा अल्बानियाको राष्ट्रियता झल्कने सङ्केत दिएका थिए । दुवै खेलाडीले बुढी औंलालाई खप्टाउँदै बाँकी औंला फिजाएर उडिरहेको चिलको आकार आउने संकेत प्रस्तुत गरेका थिए । जुन आकृतिमा अल्बानियाको राष्ट्रिय झन्डा प्रतिबिम्बित भएको थियो ।

साकिरी अल्बानियाको कोसोभोमा जन्मिएका हुन् । जाकाका पुर्खा पनि कोसोभोकै हुन् । कोसोभो पहिले सर्बियाको एक प्रान्त हो । तर २००८ मा कोसोभोले स्वतन्त्र भएको घोषणा गरेको थियो । तथापि सर्बियाले त्यसलाई स्विकारेको छैन । दुई देशबीचको तनाव अझै कायमै छ । जाकाका पुर्खौली कासोभोका भए पनि उनीहरू अल्बानियन मूलका हुन् । जाकाका दाजु अल्बानियाको राष्ट्रिय टोलीबाट खेल्छन् ।

 लामो समयको द्वन्द्वपछि बालकान्सका थुप्रै परिवार स्विट्जरल्यान्डलगायत युरोपका अन्य देशमा बसाइँ सरेका थिए । स्विट्जरल्यान्ड फुटबलमा अल्बानिया मूलका थुप्रै खेलाडी छन् ।

सेनेगलविरुद्धको खेलमा राजनीतिक गतिविधि झल्कने ब्यानर प्रदर्शन गरेका कारण फिफाले शनिबार पोल्यान्ड फुटबल संघलाई १० हजार स्विस फ्रांक (दश हजार एक सय अमेरिकी डलर) जरिवानासहित चेतावनी दिएको छ ।

फिफा अनुशासन समितिले अर्जेन्टिना र क्रोएसियाको फुटबल संघमाथि पनि समर्थकलाई नियन्त्रणमा राख्न नसकेकोमा अनुशासनको कारबाहीका लागि अनुसन्धान गर्ने जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया