सीके राउतसँग गरिएको सहमतिमा जनमत संग्रह गर्ने कुरा उल्लेख छैन : प्रधानमन्त्री ओली

 फागुन २७, २०७५ सोमबार १५:३४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतसँग गरिएको सहमतिमा जनमत संग्रहबारे कहीँ कतै उल्लेख नगरिएको स्पष्ट पार्नु भएको छ । 

प्रधानमन्त्री ओलीले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र जनताको सार्वभौमसत्तामाथि जनमत संग्रह हुनै नसक्ने पनि स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय एकता र लोकतन्त्रको पक्षमा जनताले चाहे मात्रै जनमत संग्रह हुन सक्ने पनि उल्लेख गर्नुभयो । सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय सुरक्षा परिषदको १८ औं वार्षिकोत्सव

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको विषयलाई प्रश्न उठाउने अधिकार कसैलाई नभएको पनि स्मरण गराउनुभयो । 
राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहनु भएका उहाँले पृथकतावादी आन्दोलन गरिरहेको राउत समूहले देशको भौगोलिक अखण्डताको सम्मान गर्दै मूल धारको राजनीतिमा आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको सुरक्षाका दृष्टिले त्यो सहमति अत्यन्तै महत्वपूर्ण उपलब्धि भएको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले देशको सुरक्षाका लागि दीर्घकालीन सोचसहितको ठोस योजना बनाउन राष्ट्रिय सुरक्षा परिषद सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुरक्षा परिषदले मुलुकको सुरक्षा चुनौतीलाई विश्लेषण गरेर त्यसको सही समाधान दिने गरी राष्ट्रिय सुरक्षा नीति बनाउने पनि बताउनुभयो ।

कार्यक्रममा मन्त्रीहरु, प्रधानसेनापति पूर्णचन्द्र थापासहित सबै सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया