विप्लव समूहको प्रतिक्रिया – सरकारको प्रस्तुति हेरेर जवाफ दिन्छौँ

 फागुन २९, २०७५ बुधबार ९:१६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अब के होला भन्ने चिन्ता बढेको छ । 

सरकारले गठन गरेको राजनीतिक वार्ता टोलीले वार्ताका लागि आह्वान गर्दा पनि वार्तामा नआई विप्लव समूह आपराधिक कृयाकलापमा केन्द्रित भएकाले उसको गतिबिधिमा प्रतिबन्ध लगाउन परेको सरकारले बताइसकेको छ । 

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अब देश फेरि द्वन्द्वमा जाने हो कि भन्ने आशंका र चिन्ता सहितको विभिन्न टिप्पणीहरु सामाजिक सञ्जालमा आएका छन् । 

सीके राउत समूहलाई जस्तै विप्लव समूहलाई पनि वार्ताकै माध्यमबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गराउनु पर्नेमा सरकारले प्रतिबन्ध लगाउने निर्णय गर्नु हतारो भएको कतिपयको भनाइ छ ।  

नख्खुमा एकजनाको ज्यान जाने गरी भएको बम विस्फोट, बसुन्धारामा वैदेशिक रोजगार व्यवसायीको घरमा भएको बम विस्फोट र देशका विभिन्न ठाउँमा भएका बम विस्फोटले विप्लव समूह आपराधिक गतिविधिमा केन्द्रित भएको सरकारले ठहर गरेको हो । 

‘विप्लवलाई कम आँक्नु हुन्न : चौकीमै हान्न सक्छन्’

धरान र कपिलवस्तुमा पक्राउ परेका विप्लव समूहका कार्यकर्ताबाट अत्याधुनिक हतियारहरु बरामद हुनुले विप्लव समूहसँग सरकार झनै सशंकित बनेकोे थियो ।

सरकारले प्रतिवन्ध लगाउने निर्णय गरेपछि अब विप्लव समूह के गर्छ ? भन्ने प्रश्नमा विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ले सरकारको निर्णयको विरुद्धमा प्रतिकार गर्ने बताउनुभयो ।  

‘अहिले पनि हामी आफ्नो राजनीतिक अभियान चलाइरहेका छौँ, एकीकृत जनक्रान्तिको अभियान चलिरहेको छ,’ उहाँले भन्नुभयो, ‘सरकारको यो निर्णयले फेरि देशलाई द्वन्द्वमा धकेल्ने काम गरेको छ, हामीलाई भूमिगत हुन बाध्य बनाइएको छ ।’ 

विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारकाे निर्णय !

सरकारले अहिलेसम्म आफूहरुलाई वार्ताका लागि औपचारिक आह्वान नै नगरेको भन्दै उहाँले अब वार्ताको औचित्य नै नरहेको पनि बताउनुभयो । अबको बाटो भनेको सरकार कसरी प्रस्तुत हुन्छ त्यहीअनुरुप नै पार्टीले जवाफ दिने उहाँको भनाइ छ । 

आफ्नो पार्टी दलाल, पूँजीवादी र प्रतिगामीको विरोधमा जनसत्ता निर्माण गरेर राजनीतिक संघर्षमा रहेको भन्दै उहाँले नागरिकका अधिकार स्थापित गर्ने आन्दोलनमा लागेको पार्टीलाई हस्तक्षेप गर्न खोजिए परिणाम नराम्रो आउने चेतावनी दिनुभयो ।  

विप्लवको गतिविधिमा निगरानी बढाउने प्रहरीको तयारी

विप्लव समूहले सैन्य दस्ता पनि तयार पारेको छ रे भन्ने प्रश्नमा उहाँले अहिले पार्टीको उद्देश्य सैन्य दस्ता निर्माणमा नभई राजनीतिक जागरुकता बढाउने अभियानमा केन्द्रित रहेको बताउनुभयो । 

‘अहिले सैन्य दस्ता निर्माण गर्ने हाम्रो प्रमुख उद्देश्य होइन, तर पनि राज्यको व्यवहार ठिक भएन भने त्यसका लागि पनि पार्टी तयारी अवस्थामा रहेको उहाँले खुलाउनुभयो ।  

सरकारले देशलाई फेरि द्वन्द्वमा धकेलेर अन्धकारमा लैजानका लागि आफ्नो पार्टीमाथि प्रतिबन्धको निर्णय गरेको उहाँको दावी छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया