ध्वंसात्मक गतिविधि सञ्चालन गरेकाले विप्लव समूहमाथि कारबाही गर्ने निर्णय लिइएको हो : प्रधानमन्त्री ओली

 फागुन २९, २०७५ बुधबार १७:१७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आतंककारी, ध्वंसात्मक गतिविधि सञ्चालन गरिरहेकाले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई कानुनी कारबाही गर्ने निर्णय लिएको स्पष्ट पार्नु भएको छ । 

प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपालाई लुटपाट मच्चाउँदै हिँड्ने लुटेराहरुको संज्ञा दिँदै सहन गर्न नसकिने पनि स्पष्ट पार्नुभयो । उहाँले लुटपाटमा संलग्न समूहसँग नडराउन पनि सबैलाई आह्वान गर्नुभयो । लुटपाटको गतिविधिमा संलग्न जोकोहीलाई सरकारले कानुनबमोजिम कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी छ ।

नेपाल नगरपालिका संघको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मूल धारको राजनीतिमा आउने अधिकार सबैलाई भएको तर लुटपाट मच्चाउँदै हिँडने अधिकार कसैलाई पनि नरहेको पनि स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले इमानका साथ काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराउनुभयो । उहाँले जनताको विश्वास आर्जन हुनेगरी काम नगर्ने जनप्रतिनिधिलाई फेरि जनप्रतिनिधि हुने अवसर नआउनेतर्फ पनि सचेत गराउनुभयो । प्रधानमन्त्री ओलीले देशको भ्रष्टाचारको उच्च श्रेणीमा भएकोमा आफूलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा लज्जाबोधको विषय हुने गरेको उल्लेख गर्दै सुशासनमा जोड दिएर विकास, निर्माणको कामलाई अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले देशको हित र कानुनको रीतअनुसार काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आह्वान गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया