साफ महिला च्याम्पियनसिप : साविक विजेता भारतकाे शानदार सुरुवात, मालदिभ्स ६-० ले पराजित

 फागुन २९, २०७५ बुधबार १७:३४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - माल्दिभ्सलाई ६–० गोलअन्तरले हराउँदै साफ महिला च्याम्पियनसिपमा साविक विजेता भारतले शानदार सुरुवात गरेको छ ।

विराटनगरको शहीद रंगशालामा मंगलबारदेखि सुरू भएको प्रतियोगिताअन्तर्गत बुधबार भएको समूह 'बी' को खेलमा भारतले माल्दिभ्सjlरुद्ध सहज जित निकाल्यो ।भारतविरुद्ध माल्दिभ्स प्रभावहीन बन्दा पहिलो हाफमै ५–० ले पछि परेको थियो ।

खेल सुरु भएको आठौं मिनेटमै भारतका लागि ग्रेसी डेङमाइले अग्रता बनाएकी थिइन्  । त्यसको ५ मिनेटपछि स्वीटी देवीले साविक विजेता टोलीका लागि दोस्रो गोल गरिन् ।

२३औंँ मिनेटमा इन्दूमती र २७ औं मिनेटमा सञ्जुले गोल गरेपछि भारतले ४–० को अग्रता बनायो । पहिलो हाफको इन्ज्यूरी समयमा रतनबाला देवीले फ्रिकिकमार्फत भारतका लागि पाँचौं गोल गरिन् ।

दोस्रो हाफमा भने भारतलाई गोल गर्न अन्तिम मिनेटसम्म कुर्नुपर्‍यो । अन्तिम मिनेटमा सञ्जुले  झण्डै ३० यार्डबाट गरेको सशक्त प्रहार गोल भएपछि भारतले ६–० को अग्रता बनायो । सञ्जुले व्यक्तिगत दोस्रो गोल गरेकी हुन् ।

यसअघिका सबै चार संस्करणको च्याम्पियन भारतले तुलनात्मक रुपमा कमजोर टोली माल्दिभ्सलाई दबाबमा राखेको थियो । भारतले एकपछि अर्को आक्रमण बुन्दै दक्षिण एसियाली महारथीको शानलाई कायमै राख्दा माल्दिभ्स भने रक्षात्मक हुन बाध्य भएको थियो ।

महिला साफमा माल्दिभ्स अहिलेसम्म एकपटक पनि फाइनलमा पुगेको छैन । उसको सबैभन्दा ठूलो उपलब्धि भएको २०१६ मा सेमिफाइनलमा पुग्नु हो । अरु संस्करणमा उसको यात्रा समूह चरणमा नै रोकिँदै आएको छ । भारत भने सन् २०१० बाट सुरु भएको महिला साफ च्याम्पियनसिपमा यसअघिका चारै संस्करणको विजेता हो ।

यसअघि मंगलबार भएको उदघाटन खेलमा समूह ए बाट नेपालले भुटानलाई ३–० गोलले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत बिहीबार समूह 'ए' मा रहेका बंगलादेश र भुटानबीच खेल हुनेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया