कर्मचारी तथा जनप्रतिनिधिले बैठकभत्ता, इन्धन र सञ्चारमा १५ लाखभन्दा बढी रकम खर्चिए

 फागुन ३०, २०७५ बिहिबार १२:५६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – गौशाला नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले सञ्चार, इन्धन र बैठकभत्तावापत वार्षिक रुपमा १५ लाखभन्दा बढी रकम खर्चिएको हो ।

नगरपालिका स्रोतले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४, ०७५ मा त्यहाँका कर्मचारी र प्रतिनिधिले इन्धन खर्चवापत २ लाख ८५ हजार १ सय ६८, सञ्चारखर्च टेलिफोनवापत २ लाख ३६ हजार र विभिन्न समयमा बसेको बैठक भतावापत ११ लाख ५६ हजार ४ सय रुपैयाँ बराबरको रकम भुक्तानी गरिएको जनाएको छ ।

गएको असारमा प्रदेश कानुन बनेपछि साउनयता बैठकभता नगरपालिकाले उपलब्ध नगराए पनि सञ्चार र इन्धन खर्च भने लिँदै आएको नगरपालिकाको लेखा स्रोतले जनाएको छ ।

गौशाला नगरकार्यपालिकाको बैठकले सञ्चार खर्च स्वरुप मासिक रुपमा नगर प्रमुखलाई २ हजार, उपप्रमुखलाई १ हजार ५ सय र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यलाई १ हजारका दरले रकम उपलब्ध गराउने निर्णय गरिएको हो ।

त्यस्तै इन्धनवापत मासिक रुपमा नगरप्रमुखका लागि २ सय लिटर, उपप्रमुखका लागि १ सय ९० लिटर, वडाअध्यक्षका लागि ६० लिटर, कार्यपालिका सदस्यलाई ३५ लिटर, वडा सचिव, शाखा प्रमुख, फिल्डका कर्मचारीलाई ३० लिटर वा लकबुकको आधारमा डिजेल वा पेट्रोल उपलब्ध गराउने निर्णय बैठकले पारित गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया