विप्लव नेतृत्वको नेकपाका गतिविधि देखेर दया जागेर आउँछ : प्रचण्ड

 फागुन ३०, २०७५ बिहिबार १६:११:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर- सीएम प्रचण्ड डट कमबाट

काठमाण्डौ –सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई ‘विद्रोहको कलाविहीन नाटक’ नदेखाउन सचेत गराउनु भएको छ । 

अध्यक्ष दाहालले चन्द नेतृत्वको नेकपाले आफूलाई नै पहिलो चरणमा मार्ने टिम परिचालन गरेको जानकारी सरकारले गराएको उल्लेख गर्दै उनीहरुको गतिविधि देखेर आफूलाई दया जागेर आएको प्रतिक्रिया पनि दिनुभयो । बिहीबार शहीद तथा बेपत्ता योद्धाहरुको सम्मानमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो नक्कल गर्ने भ्रम पारेर अघि बढे परिणाम दूर्भाग्यपूर्ण भन्दै चन्द नेतृत्वको नेकपालाई नयाँ बाटो खोजेर अघि बढन पनि आग्रह गर्नुभयो । 

उहाँले चन्दलाई यो २०५२ साल नभई २०७५ साल भएकाले परिस्थितिलाई हेरेर अघि बढन गम्भीर हुन पनि सचेत गराउनुभयो । आफ्नै सचिवालयमा सचिव भएर काम गरेका चन्दले आफैलाई पहिलो चरणमा मार्ने योजना बनाएको सुन्दा आफूलाई दया लागेर आएको अध्यक्ष दाहालको भनाइ छ । अध्यक्ष दाहालले आफ्नो नक्कल गरेर कहीँ पनि नपुगिने पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले सरकारले संविधान र कानुनअनुसार काम गर्ने उल्लेख गर्दै परिस्थितिको गम्भीर विश्लेषण गरेर अघि बढन पनि चन्द नेतृत्वको नेकपालाई पटक–पटक आग्रह गर्नु भयो ।

अध्यक्ष दाहालले सरकारले छिट्टै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पुनर्गठन गर्न लागेको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबबहादुर देउवा र आफूसँग मंगलबार दुवै आयोग पुनर्गठनको विषयमा छलफल गर्नु भएको र त्यसलाई पुनर्गठन गरेर शान्ति प्रक्रिया बाँकी काम पूरा गर्ने सहमति गरिएको पनि बताउनुभयो । 

उहाँले शहीद तथा बेपत्ता परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने विषयमा पनि पार्टी नेतृत्वबीच सहमति भएको दाबी गर्नुभयो । सत्तापक्ष र प्रतिपक्ष कसैले पनि यो परिवर्तनका लागि जीवन बलिदान गर्ने शहीदहरुको सम्मान गर्ने कुरामा विवाद गर्न नहुने पनि अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले शहीद तथा बेपत्ता परिवारका एक जना सदस्यलाई रोजगारी दिने विषयमा पनि प्रधानमन्त्री ओलीसँग आफूले छलफल गरेको पनि बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया