सांसद तथा पूर्व मन्त्री शेरबहादुर तामाङविरुद्ध कारण देखाउ आदेश जारी

 फागुन ३०, २०७५ बिहिबार २०:५४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – उच्च अदालत पाटनले प्रतिनिधसभाका सांसद शेरबहादुर तामाङविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । 

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा पूर्व कानुनमन्त्री समेत रहेका तामाङले सांसद विकास कोषको रकम दुरुपयोग गरेको र सूचना माग गर्दा लुकाएकाले उहाँमाथि पत्रकार निरोज चौलागाँईले उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए ।  

सूचना किन लुकाइएको तथा लुकाउनु पर्ने कारण भए त्याे खुलाइ १५ दिनभित्र जवाफ पेश गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको हो ।  

न्यायाधीश नरेन्द्रकुमार शिवाकोटीको एकल इजलासले सूचना लुकाउने तामाङलाई समेत अदालतमा उपस्थित हुन पनि आदेश दिएको छ । 

सांसद तामाङले नियमविपरीत सांसद विकास कोषको बजेट वितरण गरेको भेटिएकाले त्यसको यथार्थ विवरण माग गर्दा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ र जिल्ला समन्वय समितिका सूचना अधिकारी युगबहादुर खड्काले समेत सूचना नदिएको पत्रकार चौलागाईँले बताउनुभयो ।  

सांसद विकास कोषको बजेटबाट २० वटाभन्दा बढी योजनामा रकम वितरण गर्न नपाउने भए पनि सांसद तामाङले २९ वटा योजनाको लागि बजेट विनियोजन गरेको भेटिएको थियो ।  

नियमअनुसार सांसदले खर्च गर्न पाउने कार्य क्षेत्रबाहिर हुनेगरी २९ वटा योजनाको लागि बजेट विनियोजन गरेको र सूचना दिन हेलचेक्र्याँइ गरेकाले अदालतसम्म जानु परेको चौलागाँई बताउनुहुन्छ ।  

निवेदकको तर्फबाट अधिवक्ताहरु शम्भूनाथ योगी र योगेन्द्र अधिकारीले बहस गरिरहनु भएको छ । 

पाटन उच्च अदालतकाे आदेश

उच्च अदालतमा चाैलागाँईले दिएकाे उजुरी


 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया