सप्तरीमा सामूहिक बलात्कार गर्ने ३ जनालाई १३ वर्ष कैद सजाय

 चैत १, २०७५ शुक्रबार १९:४८:४० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको राजविराजको चर्चित सामूहिक बलात्कार काण्डको अभियोगमा पक्राउ परेका तीन जना युवालाई जिल्ला अदालत सप्तरीले १३ वर्ष कैद सजाय तोकेको छ । 

न्यायाधीश उमेश कोइरालाको एकल इजलासले राजविराज नगरपालिका वडा न. ४ का २३ वर्षीय शम्भु साह, वडा नं ८ का २८ वर्षीय नविन दत्त र वडा नं ९ का २० वर्षीय फुदिन खानलाई कैद सजाय तोकेको हो ।

बलात्कारको कसुरमा ८ र सामुहिक बलात्कारको कसुरमा थप ५ वर्ष गरी १३ वर्ष कैद सजाय फैसला गरिएको अदालतका श्रेस्तेदार दिलकुमार वर्दैवाले जानकारी दिनुभयो । 

उनीहरुले २०७१ साल चैत १३ गते आपूmहरुसँगै एसएलसी परीक्षा दिएर घर फर्कँदै गरेकी राजविराजकै १६ वर्षीया चौधरी थरकी सहपाठीलाई वडा नं ८ मा रहेको भूपेन्द्र यादवको घरमा डेरा गरी बस्ने अमर कुमार यादवको कोठामा लगि जबर्जस्ती सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।  

पीडित पक्षको उजुरीको आधारमा त्यसै दिन बलात्कृत किशोरीको स्वास्थ्य परीक्षण र उपचार सुरु गराई प्रहरीले आरोपितहरुलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

बलात्कारका आरोपितलाई कडा कारवाहीको माग गर्दै आफन्त र विभिन्न संघसंस्थाले त्यतिबेला दिनहुँ प्रदर्शन गर्दै आएका थिए ।

अदालतको फैसलाबाट परिवारजन तथा त्यतिबेला आन्दोलनरत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले खुशी व्यक्त गरेका छन् ।

ढिलै भएपनि पीडितले न्याय र दोषीले दण्ड पाएको स्थानीयवासीहरुको भनाइ छ ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया