वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै – बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. भट्टराईले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको हो ।
उहाँले देशमा बेरोजगारी बढदै गएको, भ्रष्टाचारका कारण विद्रोहको अवस्था कायमै रहेको अवस्थामा चन्द नेतृत्वको नेकपालाई दमन गर्ने सरकारकाे नीति गलत भएको प्रतिक्रिया दिनुभयो । उहाँले चन्द नेतृत्वको नेकपालाई दमन नगरी समस्याको समाधान गरेर जनताबाट उनीहरुलाई अलग्याउने नीति लिन पनि सरकारलाई सुझाव दिनुभयो ।
संयोजक भट्टराईले अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई तत्काल रिहा गर्न पनि सरकारसँग माग गर्नुभयो । राजनीतिक आन्दोलनको क्रममा भएको घटनालाई लिएर जनताबाट निर्वाचित सांसदलाई जन्मकैदको फैसला गर्नु असंगत भएको उल्लेख गर्दै उहाँले यसलाई राजनीतिक रुपले समाधान गर्दै चौंधरीलाई तत्काल रिहा गर्न सरकारसँग माग गर्नुभयो ।
नयाँ शक्ति पार्टी, नेपालले आमाको नाममा नागरिकता पाउने कानुनी व्यवस्था गर्न पनि सरकारलाई दबाब दिएको छ । संयोजक भट्टराईले सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकप्रति आपत्ति जनाउँदै त्यसमा आमाको नाममा नागरिक पाउने व्यवस्था तत्काल गर्न पनि सरकारको गम्भीर ध्यनाकर्षण गराउनुभयो ।