साफ महिला च्याम्पियनसिप : श्रील‌ंकालाई जितेर फाइनल पुग्ने नेपालकाे दावी

 चैत ५, २०७५ मंगलबार १३:३३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बुधबार नेपाल र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् ।विराटनगरको शहीद रंगशालामा हुने सेमिफाइनल दिउँसो एघार बजे हुनेछ । सेमिफाइनल जितेर फाइनलमा पुग्ने लक्ष्यकासाथ बुधबार मैदानमा उत्रिने नेपाली टिमका प्रशिक्षक हरि खड्का र कप्तान निरु थापाले बताएका छन् । प्रतियोगिताको चार संस्करण सकिँदासम्म नेपाल तीन पटक उपविजेतामा सीमित भएको छ भने एक पटक सेमिफाइनलमा पराजित भएको थियो ।

घरेलु मैदानमा भइरहेको प्रतियोगिताको उपाधि जित्दै ट्रफी घरमै राख्ने लक्ष्यमा नेपाली टिम छ । प्रशिक्षक हरि खड्काले श्रीलंकाविरुद्धको फाइनलका लागि नेपाली टिम शारिरीक र मानसिक दुवै रुपमा तयार रहेको प्रतिक्रिया दिए । ‘विपक्षीलाई कहिले पनि कमजोर मान्न त हुँदैन । तर प्रतियोगितालाई हेर्दा हामी अलि बलियो देखिएका छौं,’ प्रशिक्षक खड्काले विपक्षीलाई सम्मान गरेर अभ्यासका क्रममा सिकेका कुराहरुलाई अवलम्बन गर्ने प्रतिक्रिया दिए । ‘यो प्रतियोगितामा हामी पनि दाबेदारका रुपमा छौं । मेरो विचारमा बुधबार श्रीलंकाले डिफेन्सिभलाई जोड दिएर काउन्टर एट्याकमा खेल्छ जस्तो लाग्छ,’ श्रीलंकाको डिफेन्सिभ सेटलाई तोडेर जित निकाल्ने लक्ष्य प्रशिक्षक खड्काले सुनाए ।

बिहानको एघार बजे हुने भएकाले विराटनगरको अत्याधिक गर्मीले दुबै टिमलाई केही असहज भने पक्कै हुनेछ । तर गर्मीले कुनै प्रभाव नपार्ने प्रशिक्षकको भनाई छ,‘यो हाम्रो देश हो, हाम्रो मातृभूमि हो । हामी ठूलो मिसन लिएर हिँडेका छौं, मौसमले हामीलाई फरक पार्ने छैन ।’ प्रशिक्षक खड्काले खेलाडीहरु सबै फिट रहेको र एट्याकिङ फुटबल खेल्ने प्रतिक्रिया दिए,‘उपाधि जित्ने लक्ष्य लिएर आएका छौं, सेमिफाइनल पक्कै जित्छौं ।

हाम्रो हतियार स्ट्राइकिङ लाइन हो । कप्तान निरु थापाले भने नेपाली टिम डिफेन्स, मिडफिल्ड र एट्याकिङ सबै पक्षमा राम्रो रहेको प्रतिक्रिया दिइन् । तर पनि मेहनत गर्नु पर्ने कप्तान थापाको भनाई छ । ‘पहिलाको तुलनामा श्रीलंका अहिले राम्रो भएर आएको छ । उनीहरुभन्दा हाम्रो टिम राम्रो छ,’ कप्तान थापाले थपिन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया