आईपीएल खेल्न सन्दीप लामिछाने बुधबार दिल्ली जाँदै

 चैत ५, २०७५ मंगलबार १६:४४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इण्डियन प्रिमियर लिग आईपीएल खेल्नका लागि नेपाली लेग स्पीनर सन्दीप लामिछाने बुधबार दिल्ली जाँदैछन् ।

पाकिस्तान सुपर लिग खेलेर स्वदेश फर्किएका सन्दीपले ६ दिन नेपालमा बिताए । दिल्ली जानुअघि सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले आफू निकै उत्साहित रहेको प्रतिक्रिया दिए । कुनै पनि प्रतियोगिता खेल्न जाँदा आफूसँग देशको नाम जोडिने भएकाले राम्रो प्रदर्शन गर्ने जिम्मेवारी बोकेर दिल्ली जान लागेको प्रतिक्रिया दिए ।

‘जुन देशमा खेल्न जाँदा पनि मेरो साथमा देशको नाम जोडिएको हुन्छ, जति राम्रो गर्दै जान्छु, देशका लागि पनि राम्रो हुन्छ,’ सन्दीपले भने । आफ्नो प्रदर्शनले अन्य नेपाली खेलाडीलाई पनि राम्रो प्रेरणा हुने उनले बताए ।

नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्न सकेको खण्डमा बल्ल आफ्नो क्षमता प्रमाणित गर्न सक्ने प्रतिक्रिया सन्दीपको छ । पछिल्लो एक वर्ष उनी विश्वभरी क्रिकेट खेल्दै निकै व्यस्त भए । पीएसएलबाट फर्किएर उनले ५ दिन परिवारसँग बिताएका थिए ।

‘आमा–बुवा लगायत परिवारका सबै सदस्यले मेरो प्रदर्शनमा गर्व गर्नुहुन्छ । यसरी नै नेपालको नाम चिनाउन पाउँ,’ सन्दीपले आफ्नो इच्छा व्यक्त गरे । तीन वर्षका लागि सन्दीप दिल्लीमा आबद्ध छन् ।

उनले अर्को सिजन पनि यही टिमबाट खेल्नेछन् । इण्डियन प्रिमियर लिग शनिबारदेखि शुरु हुँदैछ । सन्दिप सहभागी भएको टिम दिल्लीले आइतबार मुम्बई इण्डियन्सविरुद्धको खेलबाट प्रतियोगिता शुरु गर्नेछ ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया