मेस्सीको चमत्कारको पर्खाईमा अर्जेन्टिना, २ खेलको प्रदर्शन बिर्सेर नाइजेरियालाई हराउने रणनीति

 असार १२, २०७५ मंगलबार १५:१४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

दुई पटकको विश्वविजेता अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीसहितका उत्कृष्ट खेलाडीले भरिपूर्ण छ । 

तर, अपेक्षा गरिएझैँ अर्जेन्टिनाको विश्वकप यात्रा सुखद बन्न सकेन । हुन त अघिल्लो संस्करणको उपविजेता अर्जेन्टिजाको विश्वकप छनोट यात्रा पनि यादगार थिएन ।
 
बल्लतल्ल विश्वकपमा छानिएको अर्जेन्टिनाले विश्वकपको सुरुवाति २ खेलमा बिर्सनलायक प्रदर्शन गर्यो । भन्नेले भनिसकेका छन्, ‘अर्जेन्टिनी टोली इतिहासकै झूर ।’ समूह डीबाट उसले नवप्रवेशी टोली आइसल्याण्डसँग अप्रत्यासित बराबरी खेलेपछि क्रोएसियासँग ३–० गोलको लज्जास्पद पराजय ब्यहोर्यो ।

समकालीन फुटबलका चीर प्रतिद्वन्दी क्रिष्टियानो रोनाल्डोले आफ्नो टोली पोर्चुगलका लागि सनसनीपूर्ण प्रदर्शन गरिरहेका बेला मेस्सी भने लगातार असफल हुँदै गइरहेको विश्लेषकहरुको भनाई छ । भलै मेस्सीको असफलतामा अर्जेन्टिनी फुटबल संघ र प्रशिक्षकको असहयोगको कुरा त छँदैछ । अब, मेस्सी र अर्जेन्टिनाका लागि अन्तिम अवसर छ, विश्वकप छनोटका लागि पनि अन्तिम खेल कुर्नुपरेको अर्जेन्टिनाका लागि रुसमा पनि त्यस्ते अवस्था आएको छ ।
 
सेन्ट पिटर्सबर्ग रंगशालामा अर्जेन्टिनाले विश्वकपको परिचित प्रतिस्पर्धी नाइजेरियासँग खेल्दैछ । नाइजेरियाविरुद्ध जित हासिल गरे र क्रोएसियाले आइसल्याण्डलाई हराए अर्जेन्टिना नकआउट चरणमा पुग्नेछ । क्रोएसिया यसअघि नै नकआउट चरणमा पुगिसकेको छ ।
 
संसारभरका फुटबल प्रेमीहरुको नजर मंगलबार लियोनल मेस्सीमा पर्नेछ, किनभने उनी र उनका अर्जेन्टिनी टिममेट नाइजेरियाविरुद्धको खेलमा विश्वकपबाटै आफूलाई बचाउने प्रयासमा हुनेछन् ।
 
प्रतियोगिता अघिसम्म अधिकांशको कुरा के हुन्थ्यो भने, मेस्सीले सम्भवतः अन्तिम विश्वकप खेल्दैछन् र अन्ततः अन्तर्राष्ट्रिय गौरवको अनुवभ गर्नेछन्, जस्तो उनका महान प्रतिद्वन्द्वी रोनाल्डोले युरो २०१६ मा गरेका थिए ।
 
गत बिहीबारको क्रोएसियाविरुद्धको हार अर्जेन्टिनाका लागि भयानक विपत्ति थियो । सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका डिएगो म्याराडोनाले अर्जेन्टिनी प्रशिक्षक जर्ज साम्पाओली र उनको रणनीतिको खुलेरै विरोध गरे ।
 
यसै परिप्रेक्ष्यमा एउटा अर्को दुखद खबर बाहिरियो कि प्रशिक्षक साम्पाओलीविरुद्ध खेलाडीहरुले नै विद्रोह गरे । यद्यपि फुटबल अर्जेन्टिनाका अध्यक्ष क्लायडियो टापियाले यसको खण्डन गर्दै मिडियाले बढी प्रचार गरेको बताए ।
 
‘वास्तवमै पत्रकार चौथो शक्ति हुन् । तर, यो बिर्सनु हुँदैन कि उनीहरु सूचनाका सम्वाहक हुन् र त्यसका लागि उनीहरुको सूचनाको श्रोतले राम्रो काम गर्नुपर्छ । जब उनीहरु भीडको पछि लाग्छन्, सही सूचना आउँदैन’, उनले आक्रोश पोखे । ‘खेलाडीहरु अफिसियलका साथमा टिम प्रशिक्षणमा छन् जुन मैले प्रत्यक्ष हेरेर आएको छु, जे पनि कुराहरु बाहिर आएको छ सबै झूट हो ।’
 
यता नाइजेरियाका लागि आइसल्याण्डले क्रोएसियालाई हराएन भने बराबरी पनि पर्याप्त हुनेछ । तर, नाइजेरियाली डिफेण्डर विलियम ट्रोष्ट इकोङले बुझेका छन् कि मेस्सीलाई रोकेर उनीहरु अघि बढ्न सकिन्छ ।
 
‘जब मेस्सी लयमा फर्कन्छन् हाम्रा लागि समस्या पक्कै हुन्छ, तर हामी पनि त केही नगरी बस्दैनौं नि !’ उनले भने । ‘थुप्रै स्तरीय खेलाडी भएको टोलीविरुद्ध खेलेको हाम्रो यो पहिलो पटक होइन, हामी हाम्रो कुरा गर्छौँ र हाम्रो सम्भावना अधिक छ ।’

प्लेयर्स टु वाच

अहमद मुसा – नाइजेरिया
 
आइसल्याण्डविरुद्धको शानदार जितमा नाइजेरियाका लागि २ गोल गरेका मुसा आफूलाई मेस्सीसँग तुलना गर्छन् । आइसल्याण्डविरुद्धको खेलमा जस्तै लय अर्जेन्टिनाविरुद्ध पनि देखाउने अपेक्षा गरिन्छ । मुसाका लागि पनि यो प्रमाणित गर्ने समय हो ।

लियोनल मेस्सी – अर्जेन्टिना

अब पनि नभए कहिले । पहिलो खेलमा आफैले पेनाल्टी मिस गरेर खेल बराबरीमा रोकियो, दोस्रो खेलमा गोलरक्षकको कमजोरीले डुबायो, आफूले पनि खास केही गर्न सकेनन् । बार्सिलोनाबाट दर्जनौं उपाधि दिलाउन अहम् भूमिका खेल्ने मेस्सी लगातार आकाशे सेतो रंगको जर्सीमा चुकिरहेका छन् । विश्वस्तरीय मञ्चमा उनले आफूलाई प्रमाणित गर्ने यो अन्तिम अवसर पनि हुनसक्छ ।

म्याच फ्याक्ट्स

–नाइजेरिया र अर्जेन्टिना अहिलेसम्म ८ पटक आमने सामने भएका छन्, जसमध्ये ४ पटक विश्वकपमै भिडेका छन् । चारै भेटमा अर्जेन्टिना विजयी भएको छ ।
 
– अर्जेन्टिना विश्वकप इतिहासमै लामो समयसम्म जितविहीन भएको छ । विश्वकपको पछिल्ला तीन खेलमा उसले १ बराबरी र २ हारको नतिजा आत्मसाथ गरेको छ ।
 
– नाइजेरिया सन् १९९८ पछि पहिलो पटक विश्कपको नकआउट चरणमा पुग्ने सम्भावना छ । अर्जेन्टिनाविरुद्ध ३ अंक हासिल गरेको अबस्थामा उसले चौथो पटक नकआउट चरणमा स्थान बनाउनेछ ।
 
– जारी विश्वकपमा अर्जेन्टिना सुपरस्टार लियोनल मेस्सीले १२ शट प्रहार गर्दा एक गोल पनि गर्न सकेका छैनन् ।
 
– नाइजेरियाका स्ट्राइकर अहमद मुसा विश्वकपका खेलमा सबैभन्दा धेरै ४ गोल गर्ने नाइजेरियाली खेलाडी बनेका छन् । आइसल्याण्डविरुद्ध उनले २ गोल गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया