क्रोएसियालाई हराएर अघिल्लो चरण पुग्ने दाउमा आइसल्याण्ड, अर्जेन्टिनाको भाग्य यसै खेलमा निर्भर

 असार १२, २०७५ मंगलबार १६:४१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

आइसल्याण्डले विश्वकपमा छनोट भएर एउटा इतिहास कायम गरिसकेको छ । उसले विश्वमञ्चमा आफूलाई प्रमाणित पनि गरिसकेको छ, अर्जेन्टिनालाई बराबरीमा रोकेर ।

यद्यपि नाइजेरियाविरुद्धको उसको दोस्रो खेल अपेक्षाकृत रुपमा राम्रो रहेन । सुन्दर रक्षापंक्तिको रुपमा चिनिएको आइसल्याण्ड नाइजेरियाविरुद्धको खेलमा त्यही पोजिसनमा कमजोर देखियो ।
 
त्यही आइसल्याण्ड विश्वकपको नकआउट चरणमा पुगेर अर्को इतिहास कायम गर्नका लागि अन्तिम खेलमा क्रोएसियासँग रुसको रोस्तोभ एरिनामा भिड्दैछन् । समूहका २ खेलमा जित हासिल गरी एक खेल अगाडि नै नकआउट चरणमा पुगिसकेको क्रोएसिया आइसल्याण्डविरुद्धको खेलमा धेरै रिक्स लिन चाहँदैन । कम्तीमा बराबरीकै नतिजाले पनि उ समूह डीको विजेता बन्न योग्य हुन्छ ।
 
आइसल्याण्ड र क्रोएसिया नयाँ प्रतिद्वन्द्वी होइनन् । सन् २०१४ को विश्वकप छनोटमा क्रोएसियासँग २–० ले पराजित भएपछि आइसल्याण्डले विश्वकप खेल्न अरु चार वर्ष कुर्नुपरेको थियो ।
 
यस विश्वकपको छनोटमा पनि यी दुई टोली एउटै समूहमा परेका थिए र दुवैले एक–एक खेल जितेका थिए । दुवै टोली विश्वकपमा छनोट भए । छनोट प्रतियोगितामा आइसल्याण्ड क्रोएसियाभन्दा २ अंक माथि रहँदै समूह विजेता बनेको थियो ।
 
नाइजेरिया र अर्जेन्टिनालाई हराएर नकआउट चरणमा पुगिसकेको अवस्थामा ज्लात्को ड्यालिकले आइसल्याण्डविरुद्ध ६ जना नियमित खेलाडीलाई आराम दिनसक्छन् । उनी नकआउट चरणमा दोहोरो पहेँलो कार्डको रिक्स उठाउन चाहँदैनन् । इभान राकिटिच, मारियो माञ्जुकिच जस्ता खेलाडी आइसल्याण्डविरुद्धको खेलमा बेञ्चमा रहने सम्भावना रहेको छ ।
 
प्रशिक्षक ड्यालिकले भने, ‘म समूहको शीर्ष स्थानमा रहन चाहन्छु ।’
 
‘तर, हामीले यो पनि हेर्नुपर्छ कि समूह चरणमा पहेलो कार्ड खाएका केही खेलाडीहरु छन् । उनीहरु आइसल्याण्डविरुद्धको खेलमा परिवर्तित हुनेछन् ।’
 
‘अघिल्लो खेलमा पहेँलो कार्ड पाएका खेलाडीहरु खेल्ने छैनन्, म रिक्स लिन चाहन्छ । त्यसमा पनि मसँग २२ जना स्तरीय खेलाडी छन् ।’
 
यता आइसल्याण्डका प्रशिक्षक हेमिर हलग्रिम्सनलाई थाहा छ कि उनका खेलाडीहरु फिजिकल गेम खेलेर आफूलाई स्थापित गर्ने प्रयासमा हुनेछन् । किनभने उनी क्रोएसियाको आरामदायी स्थितिको फाइदा उठाउँदै समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुग्न चाहन्छन् ।
 
उनले भने, ‘क्रोएसियासँग हामीले ४ वर्षमा ४ पटक खेलेका छौँ । यसो भन्दा पनि हुन्छ कि हामी विवाहित जोडी हौँ र छुट्टिन चाहन्छौँ, तर पनि पटक–पटक भेट भइरहन्छ ।’
 
‘क्रोएसियाविरुद्ध खेल्दाको परिदृश्य हामीलाई थाहा छ । जहिले पनि त्यो कठिन हुन्छ ।’
 
यो खेल आइसल्याण्डका तीन खेलाडीको घरेलु मेदानमा हुँदैछ । आइसल्याण्ड टोलीका बिजोर्न बर्गम्यान सिगर्डसन, रेञ्जर सिगर्डसन र इनगी इनगासन रुसको एफसी रोस्तोभबाट व्यावसायिक फुटबल खेल्छन्  ।

प्लेयर्स टु वाच

जिल्फी सिगर्डसन –आइसल्याण्ड

आइसल्याण्ड टोलीका अनुभवी र उच्च प्रोफाइल भएका स्ट्राइकर हुन् जिल्फी सिगर्डसन । क्रोएसियाविरुद्धको उनको खेल यसकारण पनि हेर्नलायक हुन्छ कि अघिल्लो खेलको अन्तिम समयमा पेनाल्टी मिस गरेका उनले त्यसको जवाफ कसरी दिनेछन् । नाइजेरियाविरुद्ध अन्तिम समयमा पेनाल्टी पाए पनि उनले गोल गर्न असफल भएका थिए ।

लुका मोड्रिक – क्रोएसिया

इभान राकिटिकको अनुस्थितिमा लुका मोड्रिकलाई क्रोएसियाको मध्यक्षेत्र सम्हाल्ने जिम्मेवारी आएको छ । आफ्नो समययका सबैभन्दा उत्कृष्ट मिडफिल्डर लुका मोड्रिकले जारी विश्वकपमा पनि आफ्नो प्रतिष्ठा कायम राखेका छन् । अर्जेन्टिनाविरुद्धको जितमा एक शानदार गोल गरेका रियल मड्रिड स्टार मोड्रिक आइसल्याण्डविरुद्ध भारी पर्न सक्छन् ।

म्याच फ्याक्ट्स

–आइसल्याण्ड र क्रोएसिया विश्वकप छनोटमै भिडेका थिए । दुवैले आफ्नो घरेलु मैदानमा जित निकालेका थिए । क्रोएसियाले २–० ले जितेको थियो भने आइसल्याण्डले १–० ले जितेको थियो ।
 
– आइसल्याण्डले क्रोएसियालाई जितेको भनेको विश्वकप छनोटको होम खेलमा मात्र हो । नत्र उसले अहिलेसम्म १ बराबरी र ४ पराजय ब्यहोरेको छ ।
 
– क्रोएसियाले विश्वकपको समूह चरणमा लगातार २ खेल जितेको सन् १९९८ को विश्वकप पछि पहिलो पटक हो । लगातार तीन खेल त उसले अहिलेसम्म कहिल्यै पनि जित्न सकेको छैन ।
 
– आइसल्याण्डले डेब्यू विश्वकपमै नकआउट चरणमा पुग्ने लक्ष्यमा छन् । सन् २०१० को विश्वकपमा स्लोभाकिया पनि यस्तै उपलब्धि हासिल गरेको थियो ।
 
– यस विश्वकपमा लुका मोड्रिचले मात्र दुई शट प्रहार गरे र दुवैमा उनी सफल भए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया